
काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापाको नेतृत्व र कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्।

वि.सं. २०८२ को राजनीतिक घटनाक्रम उल्लेख गर्दै खड्काले थापाको नेतृत्व क्षमता र नियतमाथि प्रश्न उठाएका हुन्। उनले बीपी कोइरालाको नेतृत्वसँग थापाको तुलना गर्दै बीपीले सबैलाई समेटेर पार्टी एकताबद्ध बनाएको, त्यसकै परिणामस्वरूप २०१५ सालमा कांग्रेसले १०९ मध्ये ७४ सिट जितेको उल्लेख गरे।
यसको विपरीत २०८२ पुसमा विशेष महाधिवेशनबाट थापा सभापति बनेपछि कांग्रेसले लज्जास्पद हार बेहोरेको खड्काको दाबी छ। निर्वाचन परिणामको जिम्मेवारी लिँदै सभापतिले राजीनामा दिएको भनिए पनि पछि ठोस कारणबिनै फिर्ता लिइएको भन्दै उनले प्रश्न उठाएका छन्।
खड्काले वर्तमान नेतृत्वले पद आफैँ लिने तर दोष अरूमाथि लगाउने प्रवृत्ति देखाएको आरोप लगाए। सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा समर्थन जुटाउँदैमा पार्टी संगठन बलियो नहुने भन्दै उनले कांग्रेस संगठन, कार्यकर्ताको विश्वास र जनताको मतबाट बलियो बन्ने बताए।
उनले सभापति शेरबहादुर देउवाको उदाहरण दिँदै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे। महाधिवेशनको वास्तविक अर्थ पार्टीभित्रको लोकतन्त्र र सबैको सम्मान भएको उनको भनाइ छ।
खड्काले थापालाई ‘म सबैलाई मिलाउन सक्दिनँ’ भन्दै आफ्नो सीमितता स्वीकार गर्न वा सबै पक्षलाई समेटेर पार्टीलाई बलियो र एकताबद्ध बनाउन दुईमध्ये एक बाटो रोज्न चुनौती दिएका छन्। पद प्राप्त गर्नु मात्रै नेतृत्व नभई इतिहासको जिम्मेवारी पूरा गर्नु नै वास्तविक नेतृत्व भएको उनको निष्कर्ष छ।

