
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका १५ स्थित चमतीबाट ३१ लाख नगदसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले स्रोत नखुलेको नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ५२ वर्षीय चिनियाँ नागरिक मा यागुबी छन्।

लागुऔषध कारोबारको सूचनालाई पछ्याउँदै जाँदा चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको नगद बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुबास बोहराले बताए । सोमबार ब्यूरोबाट खटिएको टोलीले चमतीस्थित आरोपीले भाडामा लिएको डेरा खानतलासी गर्दा सो रकम भेटिएको हो । तर, उनको साथमा लागुऔषध फेला नपरेको एसएसपी बोहराले जानकारी दिए ।
उनको साथमा भेटिएको रकम अवैध हुण्डीको भएको आशङ्का गरिएको छ। साथबाट सुन काट्न प्रयोग गरिने कैँची र डिजिटल तराजु पनि प्रहरीले बरामद गरेको छ । आरोपीमाथि थप अनुसन्धान र कारबाहीका लागी ब्यूरोले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ।
पक्राउ परेका नागरिक सुन कारोबारी हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्।

