
काठमाडौं । एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीमा ७० वर्षे उमेर हद र मुख्य कार्यकारी पदमा बढीमा दुई कार्यकालको व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरेको छ ।

उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले उम्मेदवार चयनमा प्राइमरी इलेक्सनको व्यवस्था गर्नुपर्ने, ‘एक व्यक्ति एक पद’ नीति लागू गर्नुपर्ने र सामूहिक नेतृत्व तथा शक्तिको विकेन्द्रीकरण गर्नुपर्ने सुझाव दिएको छ ।
प्रतिवेदनमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थाले नेतृत्व विकास, नेतृत्व हस्तान्तरण, पार्टीमा गतिशीलता र नयाँ पुस्तालाई जोड्न सहयोग पुग्ने उल्लेख छ ।
त्यस्तै, एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी प्रधानमन्त्री, मन्त्री वा स्थानीय प्रमुख हुन नपाउने तथा एकपटक प्रत्यक्ष वा राष्ट्रियसभा सदस्य भइसकेकालाई पुनः समानुपातिकतर्फ उम्मेदवार नबनाउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।
उम्मेदवार चयनमा स्थानीय कमिटीको सिफारिसलाई प्रमुख आधार बनाउनुपर्ने र संघीय, प्रदेश तथा स्थानीय निर्वाचनका लागि संगठित सदस्यहरूको आन्तरिक निर्वाचन (प्राइमरी इलेक्सन) मार्फत लोकप्रिय उम्मेदवार छनोट गर्नुपर्ने कार्यदलको प्रस्ताव छ ।

