
श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र शाहलाई जनताले देशकै चाबी दिए पनि देश राम्रोसँग चलाउन नसकेको बताएका छन् । इलामको बिप्लेटेमा आयोजित पार्टीको ‘जनहातेमालो’ कार्यक्रममा बोल्दै उनले भने, ‘जनताले बालेनलाई देशकै चाबी दिए । तर, ड्राइभर चाहिँ एम्बुलेन्सको परेछ ।’

उनले थपे, ‘ट्राफिक लाइट पनि नहेर्ने, अर्काको लेन पनि मिच्ने, जसलाई पायो त्यसलाई किच्याउने, जहाँ पायो त्यहीँ छिर्ने, जता पायो त्यतै पार्किङ गर्ने गरिरहेको छ । सार्वभौमिक अधिकारसम्म नागरिकले आफ्नो अमूल्य मतद्वारा चुनेको ड्राइभरले नियम कानून त मान्नुपर्छ होला नि ’ प्रधानमन्त्री बालेनले पछिल्लो मुस्ताङ र पोखरा भ्रमणका क्रममा ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनको चर्को आलोचना भएको थियो ।
आउने प्रदेश र स्थानीय निर्वाचनमा गाडीको चाबी श्रम संस्कृतिले लिएर अगाडि बढ्नुपर्ने भन्दै यसका लागि जनताको जरासम्मै पुग्नुपर्ने सुदनको भनाइ छ । जनतासँग हातेमालो गर्दै बलियो पूर्वाधार बनाएर सरकार जनताको शासक होइन, सेवक हो भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्नुपर्ने उनले बताए । आज विभिन्न पार्टीका दर्जनौं कार्यकर्तालाई सुदनले श्रम संस्कृतिमा भित्राएका छन् ।

