ओलीलाई पद त्याग्न एमाले कार्यदलको सुझाव

cp new add
Nisharg hospital

काठमाडौँ । नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पद त्याग गरी आम कार्यकर्ताको भावना सम्बोधन गर्न सुझाव दिएको छ।

Nast Ad

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठित १५ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा सरकार र पार्टी कमजोर हुनुमा ओलीको कार्यशैलीलाई प्रमुख कारणका रूपमा औँल्याइएको छ। प्रतिवेदनले पार्टीमा सहज नेतृत्व हस्तान्तरण हुन नसक्दा समस्या बढेको भन्दै नेतृत्व परिवर्तनमार्फत कार्यकर्ताको अपेक्षा सम्बोधन गर्नुपर्ने सुझाव दिएको छ।

प्रतिवेदनमा पार्टी नेतृत्वको कार्यशैलीबाट उत्पन्न असन्तुष्टिलाई भूराजनीतिक परिस्थितिसँग जोड्न नमिल्ने उल्लेख गरिएको छ। नेतृत्व हस्तान्तरण सहज नहुँदा पार्टी नेतृत्वप्रति अनास्था र असन्तुष्टि बढेको कार्यदलको निष्कर्ष छ। कार्यदलले भदौ २३ र २४ गतेको घटनाभन्दा अगाडिदेखि नै पार्टी नेतृत्वप्रति असन्तुष्टि सार्वजनिक रूपमा प्रकट हुन थालेको उल्लेख गरेको छ। त्यसपछि महाधिवेशनमार्फत नेतृत्वसम्बन्धी प्रश्न समाधान गर्ने प्रयास गरिए पनि समस्या समाधान हुन नसकेको प्रतिवेदनमा जनाइएको छ।

कार्यदलले पार्टी विधानमा रहेको ७० वर्षे उमेर हद र कार्यकारी पदमा बढीमा दुई कार्यकालको व्यवस्था पुनःस्थापित गर्नुपर्ने सुझावसमेत दिएको छ। यी प्रावधान हटाउँदा पार्टीको सक्रियतामा नकारात्मक असर परेको कार्यकर्ताको बुझाइ रहेको भन्दै विधान संशोधन गरेर पुरानै व्यवस्था कायम गर्नुपर्ने अधिकांश कार्यकर्ताको राय रहेको प्रतिवेदनमा उल्लेख छ।

ओलीको चाहनाविपरीत सुझावसहितको प्रतिवेदन तयार गर्ने कार्यदलमा उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलसमेत सदस्य छन्। पौडेल, गुरुङ र पोखरेलको अग्रसरतामा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार पारिएको बताइएको छ।

कार्यदलमा उपमहासचिव लेखराज भट्ट, सचिवहरू पद्मा अर्याल र भानुभक्त ढकाल तथा आठै भौगोलिक प्रदेशका इन्चार्जहरू छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, महेश बस्नेत, लिलानाथ श्रेष्ठ र दामोदर भण्डारी सदस्य छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...