रसुवाको बाढी चितवन प्रवेश गर्दै, प्रशासन उच्च सतर्कतामा

cp new add
Nisharg hospital

 

चितवन । रसुवा क्षेत्रमा आएको ठूलो बाढी चितवन प्रवेश गर्ने क्रममा रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाएको छ । माथिल्लो तटीय क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अवस्थालाई विश्लेषण गर्दै चितवनमा पनि ठूलो जोखिम हुन सक्ने भन्दै सुरक्षा तयारी तीव्र पारिएको हो ।

Nast Ad

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार त्रिशूली र नारायणी नदीको बहाव बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको छ । प्रजिअ अर्यालले भने, ‘माथि जुन तहको क्षति भएको छ, त्यसैका आधारमा चितवन पनि प्रभावित हुन सक्छ भन्ने हाम्रो विश्लेषण छ । त्यसैले हामीले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम गरिसकेका छौँ ।’

प्रशासनले स्थानीय तहहरूसँग समन्वय गरी माइकिङमार्फत सूचना सम्प्रेषण गरिरहेको छ । विशेषगरी फिस्लिङदेखि गोलाघाटसम्मको त्रिशूली र नारायणी नदी किनारका बस्तीहरूलाई उच्च जोखिममा राखिएको छ ।

कुन कुन क्षेत्र जोखिममा ?

प्रजिअ अर्यालका अनुसार मुग्लिन बजार क्षेत्र, नारायणगढको नारायणी नदी किनारका बस्तीहरू, भरतपुर महानगरपालिका वडा नम्बर १६ को तटीय क्षेत्र र पश्चिम चितवनका तल्लो भागहरू बाढीको उच्च जोखिममा छन् । नदीको बहाव अत्यधिक बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायका सबै टिमलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।

‘हाम्रो मुख्य प्राथमिकता मानवीय क्षति हुन नदिने हो,’ अर्यालले थपे, ‘नदीको बहाव बढ्ने क्रममा रहेकाले सबै तयारी पूरा गरिएको छ र सुरक्षाकर्मीहरू फिल्डमै परिचालित छन् । माथिल्लो क्षेत्रमा परेको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण चितवनका नदी किनारका बासिन्दालाई सचेत रहन र सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...