
धनगढी। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि कैलालीबाट रोजगारीका लागि रसुवा पुगेका ३० भन्दा बढी कामदार सम्पर्कविहीन भएका छन्।

टीकापुर नगरपालिका–१ समितिपुरबाट ठेकेदारमार्फत धुन्चे बजारनजिक जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा काम गर्न गएका उनीहरू बुधबार बिहानदेखि परिवारको सम्पर्कमा नआएका हुन्।
स्थानीय अखिल चौधरीका अनुसार बाढी आउनुअघि कामदारहरू सुरुङमा काम गर्न गएका थिए। कामदारलाई लिएर गएका तुलाराम चौधरीसँग बुधबार बिहान एकपटक सम्पर्क भए पनि त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
बाढीपछि रसुवामा रहेका कैलालीसहित विभिन्न जिल्लाका कामदार तथा कर्मचारीको अवस्थाबारे परिवारजन चिन्तित छन्। आफन्तहरूले तत्काल खोजी तथा उद्धार गरी अवस्थाबारे जानकारी गराउन माग गरेका छन्।

