रसुवा बाढी अपडेट : मृतकको संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव

cp new add
Nisharg hospital

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी हालसम्म ५३८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा मात्रै २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ। यस्तै तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको छ।

विपद्मा ७३ जना घाइते भएका छन् भने ९७७ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये ५१७ जना विदेशी नागरिक र विदेशमा बस्ने १२७ नेपाली छन्। यस्तै, रसुवाका १६१, मकवानपुरका ६६ र नुवाकोटका एक जना पनि सम्पर्कविहीन छन्।

विपद्मा खटिएका नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जनासहित भन्सारका १५ र अध्यागमनका ४ कर्मचारीसमेत सम्पर्कविहीन छन्। खोजी, उद्धार र राहतका लागि १४ हजार ८२९ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म २५ विदेशी नागरिकसहित ३ हजार ७४२ जनाको उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि नेपाली सेना र निजी कम्पनीका गरी ७८ हवाई उडान भएका छन्।

सरकारले राहतस्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्री बोकेका ३० ट्रक पठाइएको छ भने हेलिकप्टरमार्फत पनि राहत सामग्री ढुवानी गरिएको छ।

नुवाकोटमा इन्धन अभाव हुन नदिन ४१ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र ९ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ। प्राधिकरणले बेपत्ता तथा उद्धार गरिएकाको विवरण आफ्नो फेसबुक पेज र वेबसाइटमार्फत सार्वजनिक गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...