
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ ।
अर्थ मन्त्रालयलाई प्राप्त पछिल्लो विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा जम्मा भएको रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार ६७० रुपैयाँ पुगेको छ। जसमध्ये एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा सरकारको खातामा जम्मा गरेका हुन् । कोषमा यसअघि २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ थियो ।
बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो ।
सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको जिम्मेवारी तोकेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन् । यस्तै, व्यक्तिगत तर्फको सबै प्रकारको सहयोग रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सक्नेछन् ।
बिहीबार दिउँसो ६ घण्टा अवधिमा निजी क्षेत्रका दाताहरुले अर्थ मन्त्रालयमा आएर २७ करोड ३३ लाख रुपैयाँ कोषलाई प्रदान गरेका थिए ।

