
काठमाडौं । पछिल्लो समय नेपाली सेनाको जस्तै देखिने पोशाक लगाएर उद्धारमा खटिएको एउटा समूहको भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्रिशूली क्षेत्रमा गएको बाढीका बेला सक्रिय देखिएको उक्त समूहलाई कतिपयले प्रधानमन्त्री बालेन शाहसँग जोड्दै ‘बालेनको निजी आर्मी’ समेत भनेका छन्।
तर, संस्थाको दाबीअनुसार उक्त समूह कुनै राजनीतिक दल वा स्थानीय तहबाट परिचालित फौज नभई वातावरण संरक्षण र विपद् व्यवस्थापनमा काम गर्ने ‘ग्रीन आर्मी नेपाल’ हो।
संस्थाका चिफ मार्सल सविन शर्माका अनुसार २०७२ सालको विनाशकारी भूकम्पपछि राहत तथा उद्धारमा खटिएका युवाहरूको पहलमा यो अभियान सुरु भएको थियो। पछि २०७७ भदौ ११ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘मुनाफा वितरण नगर्ने कम्पनी’का रूपमा ग्रीन आर्मी नेपाल दर्ता गरिएको थियो।
नेपाली सेनाको जस्तै देखिने पोशाकका विषयमा विवाद भएपछि शर्माले गृह र रक्षा मन्त्रालय हुँदै जंगीअड्डाको राय लिएर काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट औपचारिक अनुमति लिएको दाबी गरेका छन्। नेपाली सेनाको सम्बन्धित निर्देशनालयले उक्त पोशाक सेना वा अन्य सुरक्षा निकायको पोशाकसँग मेल नखाने राय दिएपछि २०७८ साउन २९ गते अनुमति प्राप्त भएको संस्थाको भनाइ छ।
ग्रीन आर्मीले देशभरका करिब ४०० देखि ५०० विद्यालयमा पुगेर विद्यार्थीलाई अनुशासन, प्राथमिक उपचार, वातावरण संरक्षण र विपद् प्रतिकार्यसम्बन्धी तालिम दिँदै आएको जनाएको छ। हालसम्म करिब ३० हजार विद्यार्थीलाई तालिम दिइसकिएको दाबी गरिएको छ।
त्रिशूली क्षेत्रमा गएको बाढीका बेला पूर्वआईजीपी सर्वेन्द्र खनालको नेतृत्वमा ११ जनाको टोली नुवाकोटको कन्ट्रोल रुमलाई जानकारी गराएर स्वयंसेवी रूपमा पुगेको बताइएको छ। टोलीले बाढी प्रभावित क्षेत्रमा केही घरबाट कुखुरा, कुकुरलगायतका जीवजन्तुलाई सुरक्षित स्थानमा निकाल्न सहयोग गरेको जनाएको छ।
हाल त्रिशूली वा अन्यत्र ग्रीन आर्मीको औपचारिक उद्धार टोली सक्रिय नरहेको संस्थाले जनाएको छ। सामाजिक सञ्जालमा फैलिएका ‘बालेन आर्मी’ वा कुनै राजनीतिक दलसँग जोडिएका दाबी सत्य नभएको संस्थाका चिफ मार्सल शर्माले बताएका छन्।

