
रौतहट । प्रतिनिधि सभाका पूर्वसदस्य किरण साहका ८८ वर्षीय बुवा श्री हजारीलाल साह आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। रौतहटको राजपुर नगरपालिका–५ घर भएका श्री हजारीलाल साह आफ्नै पुरानो घरको दुई तलामाथि झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनाको कारणबारे भने अहिलेसम्म केही खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। साथै आवश्यक कानुनी प्रक्रिया पनि अघि बढाइएको प्रहरीले जनाएको छ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी एमालेबाट रौतहट क्षेत्र नम्बर २ बाट किरण साह निर्वाचित सदस्य हुन। हाल उनी नेपाली कम्युनिष्ट पार्टीमा रहेका छन्।
घरमै वृद्ध बुवाको मृत्यु भएपछि साह परिवारमा शोक छाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

