कैलाली बहुमुखी क्याम्पसको सम्झौताविरुद्ध स्ववियुले घोषणा गर्‍यो आन्दोलन

cp new add
Nisharg hospital

धनगढी । कैलाली बहुमुखी क्याम्पस प्रशासन र धनगढीस्थित चैतन्य एकेडेमीबिच भएको दुई वर्षे समझदारीप्रति क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले चर्को विरोध जनाएको छ। विद्यार्थीहरूको शैक्षिक तथा आर्थिक हितविपरीत अपारदर्शी ढंगले सम्झौता गरिएको आरोप लगाउँदै स्ववियुले आन्दोलनको घोषणा गरेको हो।

भदौ १५ गते क्याम्पस र चैतन्य एकेडेमीबिच लोकसेवा, शिक्षक सेवा, बैंकिङलगायत प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा सञ्चालन गर्ने विषयमा समझदारी भएको थियो। सम्झौताअनुसार क्याम्पसका २० जना जेहेन्दार विद्यार्थीलाई निःशुल्क तथा १०० जनालाई सहुलियत शुल्कमा तयारी कक्षा उपलब्ध गराउने उल्लेख छ।

सम्झौतामा क्याम्पस प्रमुख डा. लोकेन्द्रबहादुर बिष्ट र चैतन्य एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले हस्ताक्षर गरेका थिए। सम्झौता सार्वजनिक भएपछि स्ववियुले भने निजी संस्थाको व्यापारिक स्वार्थलाई क्याम्पसको संरचना र प्रतिष्ठासँग जोड्न खोजिएको आरोप लगाएको छ। स्ववियु सभापति सन्तोष पन्त र सचिव ओमप्रकाश बस्तीले जारी गरेको विज्ञप्तिमा विद्यार्थी सरोकारका विषयमा विद्यार्थी प्रतिनिधिलाई सहभागी नगराई एकलौटी र अपारदर्शी ढंगले सम्झौता गरिएको उल्लेख छ।

स्ववियुले क्याम्पसमा हजारौँ विद्यार्थी अध्ययनरत रहे पनि सीमित विद्यार्थीलाई मात्रै निःशुल्क तथा सहुलियत कक्षा उपलब्ध गराउने व्यवस्था आपत्तिजनक भएको जनाएको छ। बाँकी विद्यार्थीलाई आर्थिक भार पर्ने र यसले क्याम्पसको शैक्षिक सेवाभन्दा निजी संस्थाको प्रचार तथा बजारीकरणलाई प्राथमिकता दिएको स्ववियुको आरोप छ।

त्यस्तै, स्ववियुले विगतमा धनगढी उपमहानगरपालिकासँग भएको इन्टर्नसिप कार्यक्रममा विद्यार्थीलाई कार्यालय सहयोगीजस्तो व्यवहार गरिएको तथा खाजा खर्चसमेत उपलब्ध नगराइएको भन्दै आगामी दिनमा हुने इन्टर्नसिपलाई ‘पेड इन्टर्नसिप’ बनाउनुपर्ने माग अघि सारेको छ। स्ववियुले क्याम्पसकै स्रोत र साधन प्रयोग गरेर सबै विद्यार्थीका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।  निजी संस्थासँग सम्झौता गरेर विद्यार्थीमाथि आर्थिक भार थप्न खोजिएको भन्दै सम्झौता तत्काल खारेज गर्न माग गरिएको छ।

विरोधकै क्रममा विद्यार्थीहरूले क्याम्पस प्रमुखको कुर्सीसमेत निकालेर स्ववियु कार्यालयमा राखेका छन्। स्ववियु सचिव ओमप्रकाश बस्तीका अनुसार पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रशासनले माग सम्बोधन नगरेपछि आन्दोलनमा उत्रिनुपरेको हो। स्ववियु सभापति सन्तोष पन्तले सम्झौता खारेज गरी सबै विद्यार्थीका लागि क्याम्पसभित्रै निःशुल्क र गुणस्तरीय तयारी कक्षाको व्यवस्था नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

स्ववियुले भदौ १७ गते बिहान १० बजे क्याम्पसको प्रशासन भवनमा शान्तिपूर्ण प्रदर्शन तथा विरोध कार्यक्रम गर्ने जनाएको छ। कार्यक्रममा सम्पूर्ण विद्यार्थी तथा विद्यार्थी संगठनहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

सम्झौताप्रति विद्यार्थीहरूबाट विरोध चर्किए पनि कैलाली बहुमुखी क्याम्पस प्रशासनले भने हालसम्म यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...