
काठमाडौँ । आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको काम प्रभावित भएको छ। सरकारले विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरे पनि राष्ट्रिय पाठ्यक्रम प्रारूपले अन्तिम रूप नपाउँदा छपाइका लागि आवश्यक ‘प्रिन्ट रेडी कपी’ (पीआरसी) उपलब्ध हुन सकेको छैन।
पाठ्यक्रम विकास केन्द्रले पीआरसी उपलब्ध नगराउँदा पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यतालिका प्रभावित भएको हो। केन्द्रले समयमै काम सुरु हुन नसके आगामी शैक्षिक सत्रअघि विद्यार्थीको हातमा पुस्तक पुर्याउन कठिन हुने जनाएको छ।
जनक शिक्षाले वार्षिक करिब १ करोड ७० लाख थान पाठ्यपुस्तक छाप्दै आएको छ। केन्द्रका अनुसार दैनिक करिब १ लाख थान पुस्तक उत्पादन गर्न सकिन्छ। तर छपाइ ढिलो सुरु हुँदा उत्पादन र वितरणको समयतालिका पनि पछाडि धकेलिनेछ।
जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले भदौ १५ गतेसम्म निर्णय आउने भनिए पनि अहिलेसम्म पाठ्यक्रम विकास केन्द्रबाट पीआरसी प्राप्त नभएको बताए। उनका अनुसार साउन १ गतेदेखि नै पाठ्यपुस्तक छपाइ, भण्डारण र प्रदेशहरूमा पठाउने कार्यतालिका लागू हुने गरेको थियो।
हाल जनक शिक्षासँग करिब ३४ लाख थान पाठ्यपुस्तक मौज्दात छन्। यसको मूल्य करिब ५० करोड रुपैयाँ रहेको केन्द्रले जनाएको छ। पाठ्यक्रम पूर्ण रूपमा परिमार्जन भए मौज्दात पुस्तक प्रयोगविहीन भई राज्यलाई ठूलो आर्थिक क्षति हुने जोखिम छ।
यसैगरी, पाठ्यपुस्तक छपाइका लागि आवश्यक कागजको स्पेसिफिकेशन र गुणस्तरसम्बन्धी मापदण्डसमेत टुंगिन बाँकी छ। अन्तर्राष्ट्रिय बोलपत्रमार्फत कच्चापदार्थ खरिद गर्नुपर्ने भएकाले समयमै निर्णय नहुँदा खरिद प्रक्रिया प्रभावित हुने केन्द्रको भनाइ छ।
पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी पुरुषोत्तम घिमिरेले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई अन्तिम रूप दिने काम तीव्र गतिमा भइरहेको बताए। उनका अनुसार प्रारूप आएपछि पाठ्यपुस्तकसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ।
समयमै पाठ्यक्रम र छपाइसम्बन्धी निर्णय नहुँदा आगामी शैक्षिक सत्र सुरु हुँदा विद्यार्थीले पाठ्यपुस्तक नपाउने र पठनपाठन प्रभावित हुने जोखिम बढेको छ।

