
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो पन्छाउने काम तीव्र गतिमा अघि बढाइएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पहिरो हटाउने काम तीव्र पारिएको जानकारी दिएका हुन्।
उनका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू पनि दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्। रुख कटानको काम सम्पन्न हुनेबित्तिकै निर्माण उपकरण परिचालन गरेर पहिरो पन्छाउने काम सुरु गरिने मन्त्री लम्सालले बताएका छन्।
सडक सञ्चालनलाई प्राथमिकतामा राखेर पहिरो हटाउने काम तीव्र गतिमा अघि बढाइएको उनको भनाइ छ।
यसअघि मन्त्रालयले कृष्णभीरमा सडक सञ्चालनका लागि तत्काल अस्थायी संरचना निर्माण तथा नयाँ ट्र्याक खोल्ने विकल्पमा समेत काम अघि बढाउने जनाएको थियो। दीर्घकालीन समाधानका लागि सुरुङमार्ग तथा बाइपास सडकको विकल्पमा अध्ययन गर्ने तयारीसमेत गरिएको छ।

