
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) ले बाढीपीडित तथा आफन्त गुमाएका नागरिकलाई सामाजिक सञ्जालमा अश्लिल गालीगलौज गर्ने र होच्याउनेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत बाढीपछिको खोज, उद्धार तथा राहतबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले विपद्को पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका हुन् । उनले आफन्त गुमाएका वा हराइरहेका नागरिकको आक्रोश स्वाभाविक भएको भन्दै उनीहरूको पीडालाई संयमतापूर्वक सुन्नुपर्ने बताएका छन् ।
‘आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो,’ उनले भनेका छन्, ‘यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, होच्याउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।’
प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार तथा व्यवस्थापनमा सरकार गम्भीरतापूर्वक लागिरहेको दाबी पनि गरेका छन् । उनका अनुसार नुवाकोटको विदुर–१० बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठसहित ज्येष्ठ नागरिकको उद्धार गरिएको छ । बाढीबाट क्षतिग्रस्त ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका ७ जनालाई काठमाडौंको म्हैपी र १७ जनालाई इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको उनले बताएका छन् ।
उनीहरूलाई ह्वीलचियर, वाकर, स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शको व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाइ छ । अस्थायी बसाइलाई छोटो बनाएर प्रभावित ज्येष्ठ नागरिकलाई छिट्टै सुरक्षित बसोबासको व्यवस्था गरिने उनले बताएका छन् ।
प्रधानमन्त्री शाहले विपद्मा आफन्त गुमाएका नागरिकलाई आफूहरू एक्लो नरहेको महसुस गराउन आग्रह गर्दै भनेका छन्, ‘हजुरहरूले आफूलाई एक्लो नठान्नु होला, जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं, हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।’
बाढीपछिको खोज तथा उद्धारमा सुरक्षाकर्मीहरू अझै पनि खटिरहेको उल्लेख गर्दै उनले जोखिम मोलेर उद्धारमा संलग्न सुरक्षाकर्मीप्रति कृतज्ञता व्यक्त गर्न पनि आग्रह गरेका छन् ।

