
काठमाडौ । नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो एक्रो ब्रिज जडानको काम सुरु भएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभावले यहाँको पक्की पुल बगाएपछि अहिले सोही स्थानमा नयाँ वैकल्पिक पुल जडान गर्न थालिएको हो।
बाढीले बगाएको पुरानो पुलको अबुटमेन्टमै नयाँ एक्रो ब्रिज जडान भइरहेको छ। पुल बगेसँगै स्थानीय आवागमनमा समस्या उत्पन्न भएको थियो भने अब नयाँ पुल निर्माण सुरु भएसँगै क्षेत्रका बासिन्दाले छिट्टै सहज यातायातको अपेक्षा गरेका छन्।
बाढी गएको करिब १० दिनमै पुल जडानको काम सुरु हुनु प्रभावित क्षेत्रका लागि ठूलो राहतका रूपमा हेरिएको छ। पुल सञ्चालनमा आएपछि देवीघाट आसपासका स्थानीयवासी तथा सो सडक प्रयोग गर्ने यात्रुको आवतजावत पुनः सहज हुने अपेक्षा गरिएको छ।

