
इजिप्टकी टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाइएको छ ।
सरकारी स्वामित्वको समाचारपत्र अल–अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गरी बिक्री गर्ने उद्देश्यले आपराधिक गिरोह सञ्चालनमा संलग्न रहेको अदालतले ठहर गरेको हो ।
अदालतका अनुसार उक्त गिरोहसँग अवैध हतियार र गोलीगठ्ठासमेत बरामद भएको थियो । ३९ वर्षीया खलिफा अपराधसम्बन्धी विषयमा आधारित टेलिभिजन कार्यक्रम ‘मिसन इम्पोसिबल’का कारण चर्चित छिन् ।
खलिफाले आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गर्दै आएकी छन् । उनका वकिलले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।
मुद्दामा अन्य ९ जना प्रतिवादीलाई आजीवन कारावासको सजाय सुनाइएको छ भने ७ जनालाई सफाइ दिइएको छ ।
अदालतले पहिलोपटक गत महिना मृत्युदण्डको फैसला घोषणा गरेको थियो । तर, इजिप्टमा मृत्युदण्डसम्बन्धी मुद्दामा ग्रान्ड मुफ्तीबाट धार्मिक राय लिनुपर्ने कानुनी व्यवस्था भएकाले उक्त राय प्राप्त भएपछि मात्रै अदालतले फैसला औपचारिक रूपमा पुष्टि गरेको हो ।
सुनुवाइका क्रममा अधिकारीहरूले ७५० किलोग्रामभन्दा बढी लागुऔषध तथा लागुऔषध बनाउन प्रयोग हुने आयातित कच्चा पदार्थ बरामद गरिएको जानकारी अदालतलाई दिएका थिए ।
मुद्दामा २० जना साक्षीले अभियोजन पक्षसमक्ष बयान दिएका थिए । यस्तै, कुराकानीका रेकर्ड तथा भिडियो क्लिपसहितका विद्युतीय प्रमाणसमेत अदालतमा पेस गरिएको अल–अहरामले जनाएको छ ।
सरकारी समाचारपत्र अल–यौमका अनुसार गत सेप्टेम्बरमा भएको सुनुवाइका क्रममा न्यायाधीशले खलिफालाई उनको कथित भूमिकाबारे प्रश्न गरेका थिए ।
त्यस क्रममा खलिफाले लागुऔषध नियन्त्रण निकायको कार्यालयमा आफूलाई त्यससँगै फोटो खिचाइएपछि मात्रै लागुऔषध देखेको दाबी गरेकी थिइन् ।
एम्नेस्टी इन्टरनेसनलको २०२५ को प्रतिवेदनअनुसार उक्त वर्ष इजिप्टमा ४९२ वटा मृत्युदण्डका फैसला सुनाइएका थिए भने २३ वटा मृत्युदण्ड कार्यान्वयन भएका थिए ।
एम्नेस्टीले लागुऔषध ओसारपसार र बलात्कारजस्ता अपराधमा मृत्युदण्डको प्रयोगप्रति आपत्ति जनाउँदै यस्ता अपराध ‘जानाजानी हत्या’को श्रेणीमा नपर्ने उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकार मापदण्डअनुसार मृत्युदण्डको प्रयोग जानाजानी हत्याजस्ता सबैभन्दा गम्भीर अपराधमा मात्र सीमित हुनुपर्ने उसको भनाइ छ ।

