
भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत सामग्रीमा गम्भीर लापरबाही भेटिएको छ ।
बाढीपीडितलाई वितरण गर्न प्याकिङ भइरहेका चामल, आटा, भुजा, चिप्सलगायत खाद्य सामग्रीमध्ये केही म्याद गुज्रिसकेका र केही म्याद सकिनै लागेका अवस्थामा फेला परेका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंको संयुक्त अनुगमन टोलीले काठमाडौंका पाँचवटा भण्डारण तथा राहत संकलन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा यस्तो तथ्य फेला पारेको हो ।
अनुगमनका क्रममा बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग, सामाखुसीस्थित प्रहरी तालिम केन्द्र र राधा स्वामी सत्सङमा राखिएका राहत सामग्रीमा कैफियत भेटिएको विभागले जनाएको छ ।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार म्याद गुज्रेका सामग्री अन्य खाद्य वस्तुसँगै राहतका रूपमा वितरण गर्न तयारी अवस्थामा राखिएका थिए ।
बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा राहतका लागि प्याकिङ गर्न राखिएका यशोदा फुड्स प्रालि, रुपन्देहीको ‘करेन्ट चिप्स’ ३० थान र गिरिधारी फुड प्रडक्ट, बुटवलको ‘भुजा’ २१ बोरा म्याद गुज्रिएको अवस्थामा भेटिएको थियो ।
टोलीले ती सामग्री वितरणमा रोक लगाउँदै छुट्टै ‘एक्स्पायर्ड जोन’ मा राखेर कारबाही प्रक्रिया अघि बढाएको छ ।
त्यस्तै, सामाखुसीस्थित प्रहरी तालिम केन्द्रमा राखिएका राहत सामग्रीमध्ये १८ पिस चोकोफन र पाँच किलोको एक प्याकेट चक्की आटा म्याद गुज्रिएको अवस्थामा भेटिएको छ ।
सोही स्थानमा रहेको ५९ प्याकेट ‘अल इन वान’ दालमोठको म्याद सकिन दुई दिन मात्रै बाँकी रहेको पाइएको थियो । उक्त दालमोठलाई समेत राहतमा वितरण नगर्न निर्देशन दिँदै छुट्टै राख्न लगाइएको विभागले जनाएको छ ।
सामाखुसीस्थित राधा स्वामी सत्सङमा पनि २५ किलोको एक बोरा जयश्री उसिना चामल म्याद गुज्रिएको अवस्थामा फेला परेको छ ।
विपद्का कारण पीडित बनेका नागरिकलाई वितरण गर्न लागिएको राहतमा म्याद गुज्रेका खाद्य सामग्री राखिनु गम्भीर लापरबाही भएको भन्दै विभागले आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।
पीडितलाई राहत दिने नाममा म्याद गुज्रेका वा उपभोगका लागि अनुपयुक्त खाद्य सामग्री पठाउँदा उनीहरूको स्वास्थ्यमा थप जोखिम निम्तिन सक्ने भएकाले अनुगमनलाई कडाइ गरिएको विभागको भनाइ छ ।

