
२७ कात्तिक, धनगढी । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य नारदमुनी रानाले अब देशलाई निकास दिनका लागी नेपाली जनताले आफ्नो भाग्य आफै कोर्नुपर्ने बताएका छन् ।

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधीसभा सदस्यका उमेदवार पनि रहेका रानाले आइतबार धनगढीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनपछि बन्ने प्रधानमन्त्रीले नेपालीको भाग्य बनाउने बताएका हुन् ।
‘निर्वाचनपछि देशमा नयाँ सरकार बन्छ त्यो सरकारले नै नेपालीको भाग्य निर्धारण गर्छ,’ रानाले भने, ‘हाम्रो स्वाभिमान बचाउने की, नेपालीको शिर निहुरिने काम गर्ने त्यो कुरा अबको प्रधानमन्त्रीमा निर्भर पर्ने भएकाले देशको भाग्य बदल्ने प्रधानमन्त्री चाहिन्छ की, देश बेच्ने जनताले रोज्नुहोला ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी कार्यक्रममा केही महिना अघि प्रधानमन्त्री शेरबहादूर देउवाले मुखबाट ¥याल चुहाएको प्रसंग उल्लेख गरेका रानाले अन्तराष्ट्रिय रुपमै देशको बेइज्जत भएको दाबी गरे । रानाले त्यो घटनालाई पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तुलना गर्न समेत भ्याएका छन् ।
उनले ओली ७० वर्ष पुगेपनि २५ वर्षको युवा भन्दा बढी सक्रिय भएको बताउदै रानाले भने, ‘उहाँ काम गर्नुहुन्छ उहाँमा त्यत्रो इच्छाशक्ती छ । देशलाई जोगाउने, देशको शिर ठाडो पार्ने, आर्थिक विकास गर्ने, गरिबका समस्या समाधान गर्ने, देशभरी विकासको गति ल्याउने केपी सर्मा ओली चाहिन्छ की शेरबहादूर तपाई रोज्नुहोला ।’

