
सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले गम्भीर संकटमा रहेको दाबी गरेका छन् ।
बिहीबार सिरहाको मिर्चैयामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले संविधान र जनताको अधिकारमाथि संकट उत्पन्न भएको पनि टिप्पणी गरे ।
संयोजक प्रचण्डले गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपालको राजनीतिक अवस्था थप जटिल बनेको जिकिर गरे ।
‘नेपाल राष्ट्र रहने हो कि होइन भन्ने चिन्ता नेपाली जनताको मनमा पैदा भएको छ,’ उनले भने, ‘देशमा फेरि अर्को दुर्घटना हुने हो कि भन्ने आशंका पनि बढेको छ ।’
सम्बोधन क्रममा उनले पटक–पटक ‘नेपाल ठूलो संकटमा छ’ भन्दै नेता तथा कार्यकर्तालाई गम्भीर भएर परिस्थितिको विश्लेषण गर्न आग्रह गरे ।
भदौ २४ गतेपछि संविधान मिचेर सरकार गठन भएको दाबी गर्दै उनले संसद् विघटन गर्नै नहुने अवस्थामा गरिएको र नेपालको राजनीतिक भविष्यबारे विदेशी शक्तिहरूले निर्णय गर्न थालेको आरोप लगाए ।
‘त्यसकारण हामीले भदौ २४ गतेलाई कालो दिन भनेका हौं,’ संयोजक प्रचण्डले भने, ‘अब नेपाल नेपाली जनताको हातमा फर्काउनुपर्छ । जनताको हातमा रहेको अधिकार पुनर्स्थापित गर्नुपर्छ ।’
उनले अहिले नेपाल नेपालीकै हातमा छ भन्ने ठान्नु भ्रम मात्रै रहेको बताए । ‘अहिले नेपाल हाम्रो हातमा छैन, अर्कैको हातमा छ । त्यसैले नेपाल नेपालीको हातमा फर्काउन एउटा ठूलो मोर्चा र आन्दोलन आवश्यक छ,’ प्रचण्डले भने ।
संविधान ट्र्याक बाहिर गएको टिप्पणी गर्दै उनले संविधानलाई भेन्टिलेटरमा राखिएको बिरामीसँग तुलना गरे ।
‘संविधान अहिले भेन्टिलेटरमा राखिएको बिरामीजस्तो भएको छ । भेन्टिलेटर झिकिदिने हो भने संविधान मर्यो भन्ने घोषणा हुन्छ,’ उनले भने, ‘अब संविधानलाई कसरी जीवित राख्ने भन्ने ठूलो प्रश्न हाम्रो अगाडि छ ।’
संविधान, लोकतन्त्र, संघीयता, न्याय र सुशासनको पक्षमा अभियान अघि बढाउने जिम्मेवारी अब वामपन्थी शक्तिहरूले लिनुपर्ने पनि प्रचण्डले बताए । त्यसका लागि नेकपा एमाले र नेकपा मसालसँग कार्यगत एकताको प्रक्रिया अघि बढेको बताउँदै उनले अन्य वामपन्थी शक्तिसँग एकताका लागि छलफल भइरहेको बताए ।
यस्तै, शान्ति प्रक्रिया र संविधान निर्माणमा सहकार्य गरेका शक्तिहरूमा नेपाली कांग्रेससँग पनि फेरि एक ठाउँमा उभिनुपर्ने भन्दै छलफल भइरहेको उनले बताए ।

