
काठमाडौं । कलाकार जितु नेपालले काठमाडौं महानगरपालिकालाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने बताएका छन् । आइतबार (भदौ २८) काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा उनले यहाँ पार्किङको समस्या रहेको उल्लेख गरे ।
उनले ट्राफिक प्रहरीले गाडीमा ‘लक’ लगाउने तथा पार्किङ व्यवस्थापनका कारण सर्वसाधारणले समस्या भोग्नुपरेको बताए । पार्किङ व्यवस्थापनका निम्ति महानगरपालिकाले थप सोच्नुपर्ने आवश्यकता रहेकामा उनले जोड दिए ।
“पार्किङको समस्या हामीलाई पनि छ । गाडी रोक्न मन हुँदैन, तर बाध्यता हुन्छ,” उनले भने, “ट्राफिक प्रहरीले लक लगाइदिने, गाडी उठाइदिने अवस्था आउँदा तनाव हुन्छ । त्यसैले पार्किङ व्यवस्थापनका विषयमा महानगरपालिकाले पनि सोच्न आवश्यक छ ।”
सहर सफा राख्न महानगर प्रहरी तथा महानगरपालिकाले गरिरहेको कामको उनले प्रशंसा गरे । उनले महानगर सफा राख्न नागरिकको व्यवहारमा परिवर्तनसँगै नियमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।

