
गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी २९ वर्षीया कल्पना पुनको शव १९ घण्टापछि फेला परेको छ ।
मुसिकोट नगरपालिकास्थित इन्द्रेगौंडाको घरबाट इस्मा गाउँपालिका–४ हुलस्थित माइतीघर जाने क्रममा आइतबार साँझ करिब ५ बजेतिर मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सीमामा पर्ने निस्ती खोलाले बगाएपछि पुन सम्पर्कविहीन भएकी थिइन् ।
खोलाले बगाएपछि स्थानीय र प्रहरीको टोलीले उनको खोजी सुरु गरेको थियो । खोजीका क्रममा सोमबार दिउँसो करिब १२ बजे अमराईको ठुला पहरास्थित निस्ती खोलामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीम किरण बोगटीका अनुसार स्थानीय र प्रहरीको टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको हो ।
‘हिजो साँझ खोलाले बगाएकी महिलाको शव आज भेटिएको छ,’ एसपी बोगटीले भने, ‘शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याउने तयारी भइरहेको छ।’
खोजी कार्यका लागि इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

