
रूपन्देही । भारतबाट ल्याइएका पेट्रोलियम पदार्थ बीचमै चोरी गर्दै गरेको अवस्थामा २ वटा ट्याङ्करसहित एक सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान ९ बजे रुपन्देहीस्थित नेपाल आयल निगम भलवारी डिपोको लागि भारतबाट ल्याइँदै गरेको पेट्रोलियम पदार्थ बोकेका २ वटा ट्याङ्करले भैरहवास्थित सराफ आयल सेन्टरमा तेल निकालिरहेको अवस्थामा प्रहरीले १० बजे नियन्त्रणमा लिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले लु. २ ख १५४४ र लु. १ ख ६५०४ नम्बरको ट्याङ्कर नियन्त्रणमा लिएर दुबैको सिल तोडिएको र तेल निकालिएको अवस्थामा भेटिएको जनाएको छ ।
आयल निगमको भलवारी डिपोमा भारतबाट आउने पेट्रोलियम पदार्थ ढुवानीकर्ता ट्याङ्कर व्यवसायी तथा आयल सेन्टर विक्रेताको मिलेमतोमा ६ महिनादेखि तेल चोरी हुँदै आएको स्रोतले बतायो ।
उनीहरुले एउटा ट्याङ्कबाट दैनिक ५ हजार लिटरसम्म तेल चोरेर बेच्ने गरेको आरोप लाग्ने गरेको छ। उक्त तेल चोरी प्रकरणमा आयल निगम भलवारी डिपोका अधिकृतहरुको समेत संलग्नताको आशंका गरिएको छ ।
तेल चोर्ने क्रममा अनिवार्य तोडिने सिल भलवारी डिपोले जाँच नगर्ने,आयात गरिएका पेट्रोलियम पदार्थको नापजाँच नगर्ने कारणले उक्त तेल चोरीमा आयल निगमका अधिकारीहरूको संलग्न रहेको आशंका छ ।
यसअघि पनि भलवारी डिपोका लागि तेल ढुवानी गर्ने ट्याङ्करहरुबाट तेल चोरीका घटना हुँदै आएका थिए ।

