
धनगढी । खोटाङमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ स्थित जंगलमा मंगलबार बाँदर खेदाउने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लाग्दा स्थानीय ५३ वर्षीय श्याम बहादुर तामाङको मृत्यु भएको हो।
प्रहरीका अनुसार मंगलबार दिउँसो अन्दाजी २ः३० बजेको समयमा ५४ वर्षीय भल बहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली श्याम बहादुर तामाङलाई लागेको थियो। गोली लागेर गम्भीर घाइते भएका श्याम बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक श्याम बहादुर, गोली चलाउने भल बहादुर तामाङकै काकाको छोरा (भाइ) रहेको बताइएको छ।
घटनापछि प्रहरीले भल बहादुर तामाङलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। घटनाको कारण, बन्दुक प्रयोगको अवस्था तथा घटनासँग सम्बन्धित अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

