
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूलाई नवीन सोच र प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गरेका छन् ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार जेन्जी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउनेतर्फ अग्रसर हुन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री शाहले यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धानमा जोड दिन, सूचना–प्रविधिको अधिकतम उपयोग गर्न र समस्या समाधानमुखी व्यवहार अपनाउन सुझाव दिए । उनले पुराना तथा अव्यावहारिक सोच त्यागेर समयअनुकूल नवीन अवधारणा र कार्यशैली अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
राजनीतिलाई मात्रै पेशा नबनाउन सुझाव दिँदै प्रधानमन्त्री शाहले सांसदहरूले आम्दानीको छुट्टै व्यावसायिक आधार निर्माण गर्नुपर्ने धारणा राखे दीर्घकालीन रूपमा आत्मनिर्भर बन्दै समाज र आफ्नै पुस्ताका लागि प्रेरणाको स्रोत बन्नसमेत उनले आग्रह गरे ।
अन्तरक्रियामा सहभागी जेन्जी उमेर समूहका सांसदहरूले प्रधानमन्त्री शाहको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिएको बताएका छन् । उनीहरूले आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन तथा स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने कार्यमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

