
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संविधानको भावना र अक्षर दुवैप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले जनतासँग गरेका बाचा र देशमा सुशासन कायम गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका हुन् ।
संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमानदार नभए त्यो केवल कागजमा मात्रै सीमित हुने उनले बताए । सुशासन केवल नारामा सीमित नभई कार्यान्वयनको विषय भएको बताउँदै प्रधानमन्त्रीले सरकारले यस दिशामा काम गरिरहेको जानकारी दिए ।
देशलाई रूपान्तरण गर्न अब पुरानै परिपाटीमा नचल्ने उनको भनाइ छ । ‘संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिवद्ध छ । संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हातहरू इमानदार भएनन् भने त्यो कागजमा मात्रै सीमित हुन्छ,’ उनले भने, ‘म प्रष्ट भन्छु- यो शुरूआत हो अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो उखेल्ने हातहरू अझै बलिया छन् । सुशासन कायम गर्न सरकार प्रतिवद्ध छ । सुशासन नारा होइन काम हो- हामी काम गरिरहेका छौँ । हामी पुरानै बाटोमा हिँड्ने छैनौँ ।’

