संविधान बलियो बनाउनु हाम्रो दायित्व हो : मुख्यमन्त्री भट्ट

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधानले महिला, दलित, मधेसीलगायत पिछडिएको समुदायलाई अधिकार सम्पन्न बनाएको बताएका छन् ।

परम्परागत राज्यसक्तामा उत्पीडित महिला, दलित, मधेसीलगायत समुदायलाई अधिकार सम्पन्न बनाउनुका साथै राज्यको विभेदकारी नजरबाट उपेक्षामा परेका सेती, महाकाली, कर्णालीको भूगोलको पहिचानलाई संस्थागत गरेको संविधानलाई जोगाउन जरुरी रहेको उनले बताए ।

संविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले सबै राजनीतिक धाराको पहिचानको प्रतिबिम्बको रुपमा रहेको संविधान उत्कृष्ट रहेको बताए । संविधानको यात्रा कति जटिल थियो भन्ने महत्व नबुझेर कतिपयले संविधानलाई प्रयोगको शैशवकालमै घाँटी निमोठ्ने प्रयास गर्ने गरेको उनको भनाइ थियो ।

संविधानलाई जोगाउनु सबैको दायित्व रहेको भट्टले बताए । ‘सेती, महाकाली र कर्णालीलाई पाखे भनेर हेप्ने, विभेद गर्ने र कहिल्यै पनि नेपालको अभिन्न अंग नसम्झने विभेदकारी राज्यको नजरबाट यो पनि नेपालको सम्मानित अंग हो भनेर हाम्रो पहिचानलाई संस्थागत गरेको छ’ मुख्यमन्त्री भट्टले भने, ‘सबै भाषाभाषी, धर्म, संस्कृतिलाई एउटै मालामा उन्ने सप्तरंगी राष्ट्रियताको संरक्षण गर्ने संविधान हामीले पाएका छौँ । त्यसैले संविधान जोगाउन जरुरी छ ।’

राजा, महाराजाको हुकुम प्रमांगीबाट नभइ नेपाली जनताका प्रतिनिधिले बनाएको यो संविधान अधिकार, अन्तरबस्तु, निर्माण प्रकृया, संवाद र सहकार्यको दृष्टिले युगान्तकारी कार्यभारको संगतीपूर्ण दस्तावेजका रुपमा रहेको उनले बताए । ‘मन्त्रीका कर्महरु, मुख्यमन्त्रीका कर्महरु, प्रधानमन्त्रीका कर्महरु, सांसदका कर्महरु, शासक, प्रशासकका कर्महरुले यो संविधानको गरिमाको ओज नगिरोस्, हामी सबैले आजको दिनमा यो संकल्प गरौँ’ मुख्यमन्त्री भट्टले भने ।

कार्यक्रममा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले संविधानपछि मुलुकमा केही पनि भएन भनेर जनता भड्काउने काम भइरहेको बताए । संविधानमा प्राप्त अधिकारबाट अब अवसरको यात्रा सुरु गर्नुपर्ने उनको भनाइ थियो ।

Navjeen New Ad
Loading...