
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।
स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्काको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुखले जानकारी दिए।
गम्भीर घाइते खड्कालाई स्थानीयको सहयोगमा उपचारका लागि जितपुरसिमरा नगर अस्पताल पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचार गरी उनलाई थप उपचारका बयोधा अस्पतालमा पुर्याइएको प्रहरीले जानकारी दिए।
घटनापछि तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिँदै घटनामा संलग्न रहेका मुख्य आरोपी जितपुरसिमरा उपमहानगरपालिका–२ का २२ वर्षीय आयुष राईसहित ३ जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
मृतकको शव अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले बताए। घटनापछि सिमराका स्थानीय बासिन्दामा त्रास फैलिएको छ।

