
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा श्रीमानको सिकल प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।
चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँ बस्ने अन्दाजी ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नै श्रीमती ४५ वर्षीया बिमला राईमाथि धारिलो हतियार ९सिकल० प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मिति २०८३ असोज ४ गते राति करिब १२ः३० बजे घटनापछि गन्दु राम आफैं प्रहरी चौकी माडिबासमा पुगेर घटनाबारे जानकारी गराएका थिए । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको थियो ।
सिकल प्रहारबाट गम्भीर घाइते भएकी बिमलालाई प्रहरी हवल्दारको कमाण्डमा खटिएको दुई जनाको टोलीले तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार पुर्याएको थियो । तर, उपचारका क्रममा राति १ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

