
धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
दुर्घटनामा छथरजोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार बिहान काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को.१ ज. २४९४ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।
धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा धनकुटा नगरपालिका–३ का २१ वर्षीय आशिष लिम्बू, जिप चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री, धनकुटा नगरपालिका–४ की ४० वर्षीया धनमाया राई, उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बा, सोही ठाउँकी ३३ वर्षीया पुनम लिम्बू र उनकी २ वर्षीया छोरी आरध्या लिम्बू घाइते भएका छन्।
यस्तै, धनकुटा नगरपालिका–४ का २६ वर्षीय आइन्द्र लिम्बू, वडा नं. ३ का २७ वर्षीय भवानी लिम्बू, सोही वडाका ४७ वर्षीय हेमबहादुर लिम्बू र वडा नं. ४ का ३० वर्षीय अबिन लिम्बू पनि घाइते भएका छन्।
घाइते सबैलाई जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको सुमो सडकसम्म निकाल्ने पहल भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।

