
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले असोज १५ गतेभित्र प्रदेशसभाबाट बजेट पारित गरी पूर्ण कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेको हो ।
नेपालीहरूको महान् चाडपर्व नजिकिँदै गएको अवस्थामा बजेट शून्यताका कारण सरकारका अत्यावश्यक सेवा प्रवाहसमेत प्रभावित भइरहेको भन्दै बैठकले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा विकास निर्माण, सार्वजनिक सेवा तथा नियमित प्रशासनिक काम प्रभावित हुने अवस्था सिर्जना भएको बताएका थिए ।
यस्तै, प्रतिपक्षको रचनात्मक भूमिका र सहभागितालाई बेवास्ता गर्दै आएको वर्तमान सरकारको कार्यशैलीप्रति समेत बैठकले ध्यानाकर्षण गराएको छ । बजेट शून्यताको अवस्था लामो समयसम्म कायम राख्न नहुने कांग्रेसको निष्कर्ष निकालेको छ ।
शाह नेतृत्वकै सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि बजेट फेल भएर प्रदेश शून्यतामा गएको थियो ।

