
धनगढी । कर्णाली नदी किनारमा महिलाको शव फेला परेको छ । टीकापुर नगरपालिका–२ मुलपानीस्थित कर्णाली नदी किनारमा अन्दाजस् ३२ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरकाअनुसार बुधबार बिहान ११ बजेतिर नामथर र वतन नखुलेकी महिलाको शव फेला परेको हो।
प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्कासहित प्रारम्भिक अनुसन्धान गरी शव टीकापुर अस्पतालको शवगृहमा राखेको जनाएको छ। मृतकको उचाइ करिब ५ फिट ६ इन्च, तल शरीरमा कालो रङको जिन्स पाइन्ट, सेतो टिसर्ट, दुवै खुट्टामा सेतो मोजा, बायाँ हातमा रक्षा डोरी र लामो कालो कपाल रहेको प्रहरीले जनाएको छ।
शरीरका विभिन्न भागमा किरा औँसा परी सडिगली गएको अवस्थामा शव फेला परेको र पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले मृतकको पहिचानका लागि हुलिया विवरण सार्वजनिक गर्दै उनलाई चिन्ने व्यक्तिले इलाका प्रहरी कार्यालय टीकापुर वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

