
धनगढी । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरू–सितापुल क्षेत्रमा पहिरो खस्दा सात वटा खच्चर बेपत्ता भएका छन् भने एउटा मृत फेला परेको छ।
आइतबार दिउँसो अविरल वर्षापछि खसेको पहिरोमा स्थानीयले चराउन लगेका खच्चर परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदमबहादुर विष्टका अनुसार बझाङको बुंगल नगरपालिका–९ का लोकेन्द्र खडायतका चार र व्यास–१ का मनोरथ भट्टका तीन खच्चर बेपत्ता भएका छन्।
मनोरथकै एउटा खच्चर भने मृत अवस्थामा फेला परेको छ। स्थानीय टाइसन बोहराका दुई खच्चर भने सकुशल भेटिएका छन्। बेपत्ता खच्चरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

