
२९ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले छाडेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा स्वकीय सचिव प्रकाशबहादुर देउवालाई उम्मेदवार बनाएपछि चासोका साथ हेरिएको छ ।

२०७४ सालमा आरजु पराजीत भएपछि पुनः यहाँबाट कांग्रेसको एकल सिफारिसमा परेकी उनी समानुपातिक सूचीमा अटाएपछि अन्तिम समयमा क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) बाट सिफारिसमा परेका डिल्लीराज पन्तलाई प्रतिनिधिसभा सदस्यको टिकट दिदै उनको ठाउँमा देउवालाई ल्याइएको थियो । देउवा अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
देउवासँगै उनको मुख्य प्रतिस्पर्धी मानिएका नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद जोशीले पनि प्रचारप्रसारलाई तीव्र बनाएका छन् । देउवाविरुद्ध कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारी पनि मतदाता रिझाउन व्यस्त छन् । यो क्षेत्रमा देउवा, जोशी र भण्डारीसँगै आठ जनाको उम्मेदवारी परेपनि मुख्य प्रतिस्पर्धा भने देउवा र जोशीबीच हुने देखिएको छ । स्वतन्त्र उम्मेदवार भण्डारी देउवाका लागि चुनौतीका रुपमा देखिएका छन् ।
गठबन्धनको भर परेका देउवालाई बागीको डर
अहिलेसम्म नेपाली कांग्रेसको कुनै कमिटिमा नबसेको बताउने प्रकाश देउवा प्रधानमन्त्री एवंम् सभापति शेरबहादुर देउवाका भतिजा हुन् । पार्टी सभापति देउवा र आरजुको चाहानाअनुसार कैलाली–५ को प्रदेशसभा (२) बाट उम्मेदवार बनेका देउवालाई सत्तारुढ गठबन्धनका माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी ) पार्टीको साथ छ ।
यो क्षेत्रमा माओवादी र समाजवादीले देउवालाई समर्थन गरेर उम्मेदवार उठाएको छैन । देउवालाई गठबन्धनमा आवद्ध दलको साथ भएपनि कांग्रेसभित्रकै असन्तुष्टि र बागी उम्मेदवारी चुनौतीका रुपमा देखिएका छन् । खासगरी कुनै पनि पार्टी कमिटिमा सक्रिय राजनीति नगरेका देउवालाई शक्तिको बलमा कैलाली ल्याएर उम्मेदवार बनाइएको भन्दै कांग्रेसका धेरै नेता कार्यकर्ता रुष्ट बनेका छन् ।
‘यहाँ वषौँदेखि साथीहरुले पार्टी कमिटिमा रहेर काम गर्नुभएको छ तर अहिले शक्तिको आडमा पार्टी राजनीति नै नगरेका मान्छेलाई उम्मेदवार बनाइएको छ, एक नेताले प्रेसपत्रसँग भने, ‘भोलि यहाँका अरु नेताको राजनीतिक सक्ने काममा साथ दिन सकिदैन भन्ने प्रायको धारणा छ,’ तर करीब चार दिन धनगढी बसेर फर्किएका प्रधानमन्त्री देउवाले असन्तुष्ट नेता कार्यकर्ताहरुसँग भेट गरेर आश्वस्त पारिसकेको दाबी उनी पक्षीय नेताहरुको छ ।
देउवाले भने सत्तारुढ गठबन्धन र पार्टी संगठनको बलमा जित्ने विश्वास गरेका छन् । ‘मैले मतदाताको प्रतिक्रिया राम्रो पाएको छु । मेरो चुनाव जित्ने बलियो आधार पाँच दलीय गठबन्धन हो, देउवाले भने, ‘दोस्रो कुरा हाम्रो प्रतिस्पर्धी दल एमाले गठबन्धन र सरकार दुवैमा फेल भइसक्यो । जनताले फेरी उसैलाई भोट हाल्ने कुनै आधार छैन । प्रतिस्पर्धी उम्मेदवार मध्ये जनताले रुचाएको उम्मेदवार म नै छु ।’
अघिल्लो निर्वाचन पार्टीको आन्तरिक समस्याले नभएर बाम गठबन्धनका कारण हारिएको बताउँदै उनले अहिले भने देशभरी नै पाँच दलीय गठबन्धन जित्ने दाबी गरेका छन् । ‘त्यो बेलाको कुरालाई लिएर अहिले जोड्न मिल्दैन् । हामी गठबन्धनका कारणले पराजीत भएका थियौँ । कांग्रेसभित्र कुनै खालको असन्तुष्टि छैन,’ उनले भने, ‘आत्म केन्द्रीत राजनीति गर्ने १÷२ जना बागी लडेका कारण त्यो कुरा चर्चामा आएको हो । त्यसमा पार्टी पंक्तिको केही छैन ।’
गठबन्धनको असन्तुष्टिको फाइदा उठाउने दाउमा जोशी
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार देउवासँग प्रतिस्पर्धा गर्न एमालेका दुर्गाप्रसाद जोशी चुनावी प्रचार–प्रसारमा सक्रिय छन् । २०५४ सालदेखि एमालेका विभिन्न कमिटिमा आवद्ध हुँदै कैलालीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका जोशी २०७४ सालको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरका उम्मेदवार थिए ।
३५ वर्षदेखि धनगढीमा बसेर सक्रिय राजनीति गरिरहेका जोशीले एमालेको मत जोगाउदै, कांग्रेस र गठबन्धनको असन्तुष्टिको फाइदा उठाउदै चुनाव जित्ने रणनीति बनाएका छन् । विकास, समृद्धि र स्थायित्वको नारा लिएर मत मागिरहेका जोशी मुख्य प्रतिद्धन्द्धी देउवालाई टुरिष्टको उपमा दिदै यहाँका मतदाताले सरसम्मान विदा गर्ने बताउँछन् ।
अहिलेस्म्म कुनै विवादमा नतानिएका जोशी अब्बल नेताका रुपमा सुपरिचित छन् । एमाले कैलालीको नेतृत्व गरिरहेका उनी विकास र समृद्धिका निमित्त आफूलाई प्रदेशसभा (२) का मतदाताले विजयी गराउनेमा ढुक्क रहेको बताउँछन् ।
‘मेरो निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाका ८ वटा वडा पर्छन । यी वडाका समस्या पहिचान गरेर समग्र विकास गर्ने पहिलो एजेन्डा हो,’ जोशीले भने, ‘व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको अवस्थामा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारको उचित व्यवस्था गर्ने अठोट मैले लिएको छु । त्यसैले मलाई मत दिएर जिताउनेमा आशावादी छु ।’
मतदाताले इमानदार राजनीतिज्ञ खोजिरहेका बेला त्यसको विकल्प आफू भएको जोशीको दाबी छ । ‘हामीले जित्नु भनेको देशले जित्नु हो । देशले जित्नु भनेको विकास र समृद्धिले जित्नु हो । त्यसैले यहाँका सचेत नागरिकले समृद्धिका लागि मत दिनुहुनेछ भन्ने विश्वास छ ।’ जोशीले गठबन्धनका उम्मेदवार प्रकाश देउवालाई लक्षित गर्दै बाहिरबाट आएका व्यक्तिलाई मतदाताले सरसम्मान चुनावबाट विदा दिने बताए ।
क्षितिजको दाबी पनि उस्तै
देउवाविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले पनि चुनावी प्रचार अभियानलाई तिव्र पारेका छन् । स्वतन्त्र उम्मेदवारीसँगै निर्दलीय भएको बताउने भण्डारीले मतदाताको राम्रो साथ पाएकाले चुनाव जित्ने दाबी प्रस्तुत गरेका छन् ।
‘अहिले म जनताको घरदैलोमा व्यस्त छु । जनताले तपाईले ठीक निर्णय गर्नुभयो । हामी तपाईलाई सहयोग गछौँ भन्नुभएको छ,’ भण्डारीले भने, ‘दलहरुले राम्रो काम गर्न सकेनन् भन्ने आम बुझाई छ । अब हाम्रो आवाज तपाई बन्नुस भनिरहेका छन् । हाम्रो धनगढी स्वतन्त्र जन्मदाताको सहर हो, हामी सबै स्वतन्त्रलाई विजयी गराउछौँ भन्ने सल्लाह भएको छ ।’ राजनीतिक दलबाट दिक्क भएका मतदाताको विकल्प आफू भएको उनको दाबी छ ।

