
चितवन । नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री किनार) को ढाँचामा विकास गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने भरतपुर महानगरपालिका र स्थानीयको सपना नारायणीको बाढीले बगाएको छ।
सङ्घीय सरकार, प्रदेश सरकार, भरतपुर महानगर र उद्योग वाणिज्य सङ्घको करोडौँ लगानीमा निर्माण गरिएका पर्यटकीय संरचनाहरू बाढीले पूर्ण रूपमा क्षति पुर्याएको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार गत आइतबार नारायणीमा ११।९३ मिटर जलसतह पुगेको थियो, जुन सन् १९६३ मा मापन सुरु भएयताकै अर्थात् ६० वर्षयताकै सबैभन्दा ठूलो बाढी हो।
यसअघि २०८१ असोज १२ गते ११.६ मिटर मापन गरिएको थियो। यही भीषण बाढीका कारण नदी किनारमा बनाइएका पैदलमार्ग (फुटट्रेल), पार्किङ, बगैँचा, मोजाइक टायल र हरियाली संरचनाहरू सबै बगेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ करोड ५० लाख रूपैयाँको लागतमा २.४ किलोमिटर फुटट्रेल र बगैँचा निर्माण गरेको थियो। त्यस्तै, महानगर र उद्योग वाणिज्य सङ्घले ९७ लाख खर्चेर बनाएको पैदलमार्ग पनि बाढीले नष्ट पारेको छ। हाल २०७९ सालमा नारायणी नदी व्यवस्थापन आयोजनाले १५ करोड ९२ लाखमा बनाएको ६५० मिटर लामो आरसीसी संरचना मात्र बाँकी छ।
भरतपुर महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नदी किनारलाई पर्यटकीय थलो बनाउन चाहे पनि हरेक वर्ष आउने बाढीका कारण सम्भव नभएको बताए। पहिलोपटक नारायणीको बहाव सोझै बजार क्षेत्रतर्फ उक्लिएपछि अहिले नारायणगढ बजार नै जोखिममा परेको स्थानीय बताउँछन्।
उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतमले नदीको प्राकृतिक बहावलाई थुनेर गरिने लगानी ‘बालुवामा पानी’ सरह भएको टिप्पणी गर्दै मेला-महोत्सवभन्दा पहिले नारायणगढ बजारको संरक्षणतर्फ ध्यान दिनुपर्ने बताए। डिभिजनल इन्जिनियर सन्तोष आचार्यले भोटेकोशी बाढीपछि नदीको सतह बढेकाले अब फरक ढङ्गले नक्साङ्कन गरेर मात्रै तटबन्ध र पूर्वाधारका काम गर्नुपर्ने देखिएको बताएका छन्।

