‘रुख हाम्रो हो’ भन्ने दाबीप्रति देउवा पक्षको आपत्ति, सर्वोच्चमा विचाराधीन विषयमा भ्रम नफैलाउन आग्रह

cp new add
Nisharg hospital

बाजुरा । नेपाली काँग्रेसभित्र पार्टीको आधिकारिकता र चुनाव चिह्न ‘रुख’ कसको भन्ने विवाद थप चर्किएको छ। गगन थापा पक्षले ‘रुख हाम्रो हो’ भन्दै गरेको दाबीप्रति देउवा नेतृत्वको काँग्रेसले आपत्ति जनाउँदै अदालतमा विचाराधीन विषयमा आफैं फैसला सुनाएजस्तो गरी विजेता घोषणा गर्नु जनतामा भ्रम फैलाउने काम भएको जनाएको छ।

देउवा पक्षले बुधबार बाजुरामा पत्रकार सम्मेलन गर्दै पार्टीको आधिकारिकता, नेतृत्व र चुनाव चिह्नसम्बन्धी कानुनी विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै पक्षले आफूलाई विजेता घोषणा गर्नु कानुनी प्रक्रिया र संवैधानिक व्यवस्थाविपरीत भएको दाबी गरेको हो।

देउवा पक्षका तर्फबाट संयोजक धनराज पण्डितले आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस नेता तथा पूर्वप्रदेश प्रमुख देवराज जोशी, पूर्वबाजुरा जिल्ला सभापति कविराज पण्डित, नेता नारायण पाध्याय, रनसिंह अयडी, नरबहादुर रावतलगायत नेताहरूको सहभागिता थियो।

पत्रकार सम्मेलनमा बोल्दै पूर्वजिल्ला सभापति कविराज पण्डितले काँग्रेसको आधिकारिकता र ‘रुख’ चुनाव चिह्नसम्बन्धी कानुनी लडाइँ जारी रहेको बताए। उनले सर्वोच्च अदालतमा विचाराधीन विषयलाई कुनै एउटा पक्षले आफ्नो पक्षमा फैसला भइसकेजस्तो गरी प्रस्तुत गर्नु गलत र जनतालाई भ्रमित पार्ने प्रयास भएको आरोप लगाए।

“कानुनी लडाइँ जारी छ। अहिले काँग्रेस र रुख कसको भन्ने विषय सर्वोच्च अदालतमा विचाराधीन छ। यस्तो अवस्थामा ‘मेरो’, ‘हाम्रो’ भन्दै जनतालाई भ्रम फैलाउने काम गलत हो। अदालतले फैसला गर्न बाँकी रहेको विषयमा आफैं फैसला गरेजस्तो प्रस्तुत गर्नु उचित हुँदैन,” पण्डितले भने।

उनले विचाराधीन मुद्दालाई बेवास्ता गर्दै वडा तथा पालिका अधिवेशनको प्रक्रिया अघि बढाइएकोप्रति समेत आपत्ति जनाए। आफूहरूको असहमति पार्टी विभाजन वा दुईवटा काँग्रेस बनाउने विषयमा नभएको उनको भनाइ थियो।

“हामी विशेष विषयमा मात्रै असहमत छौँ। दुई हुने वा पार्टी फुटाउने हाम्रो नियत होइन,” उनले स्पष्ट पारे।

काँग्रेस नेता तथा पूर्वप्रदेश प्रमुख देवराज जोशीले पनि पार्टीभित्र छलकपट र भ्रमको राजनीतिभन्दा विधि, विधान र सत्यको आधारमा अघि बढ्नुपर्ने बताए। आफूहरूको पक्षमा नभएको तथ्यलाई प्रचार गरेर जनमत निर्माण गर्ने प्रयास सफल नहुने उनको दाबी थियो।

“छलकपट होइन, विधि र विधानअनुसारको राजनीति गर्नुपर्छ। भ्रम र झुटबाट मुक्त भएर अघि बढ्नुपर्छ। दाबी गर्दैमा कुनै कुरा सत्य हुँदैन,” जोशीले भने।

पत्रकार सम्मेलनमा सहभागी नेताहरूले देउवा नेतृत्वको काँग्रेसले कार्यकर्तालाई कुनै ‘ललिपप’ देखाएर भ्रमित नगर्ने दाबीसमेत गरे। आफूहरूलाई २० देखि ३० प्रतिशत पनि समर्थन छैन भनेर प्रचार गरिँदै आएको भन्दै त्यसको जवाफ आगामी अधिवेशनमा कार्यकर्ताको सहभागिता र उत्साहले दिने उनीहरूको भनाइ थियो।

नेताहरूले नेपाली काँग्रेसको संगठनात्मक प्रक्रिया विधि र विधानअनुसार अघि बढ्ने भन्दै देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने जानकारी दिए।

प्रदेश सभापति वीरबहादुर बलायरले १५औँ महाधिवेशनमा सभापति बनाएर एकताको महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको भन्ने विषयमा समेत नेता रनसिंह अयडीले प्रश्न उठाए। उनले उक्त विषयमा समेत भ्रम फैलाइएको दाबी गरे।

अयडीले काँग्रेसलाई ‘हाइज्याक’ गरेर एक पक्षले आफ्नो नियन्त्रणमा लिने प्रयास सफल नहुने बताए। पार्टीभित्रको असहमति विचार र विधिको विषय भएको भन्दै उनले यसलाई विभाजनको रूपमा बुझ्न नहुने धारणा राखे।

देउवा पक्षका नेताहरूले अदालतमा विचाराधीन विषयको अन्तिम टुंगो न्यायिक प्रक्रियाबाटै लाग्ने भन्दै त्यसअघि कुनै पक्षले आफूलाई विजेता घोषणा गर्नु उचित नहुने बताएका छन्। उनीहरूले आगामी अधिवेशनबाट कार्यकर्ताले नै आफ्नो धारणा व्यक्त गर्ने र पार्टीको संगठनात्मक भविष्य निर्धारण गर्ने दाबी गरेका छन्।
ऋयmउयकभ

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...