बुटवलमा साइबर सुरक्षा प्रतियोगिता हुँदै, विजेतालाई एक लाख पुरस्कार

cp new add
Nisharg hospital

बुटवल । साइबर सुरक्षा तथा सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी, युवा तथा प्रविधिप्रेमीलाई लक्षित गरी बुटवलमा राष्ट्रियस्तरको नेपाल साइबरसिल्ड – २०२६ प्रतियोगिताको तयारी सुरु भएको छ ।

नेपालमा साइबर सुरक्षाप्रति युवाको रुचि र सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले ‘क्याप्चर द फ्ल्याग’ थिममा प्रतियोगिता आयोजना गरेको हो । साइबर सुरक्षासम्बन्धी व्यावहारिक ज्ञान, समस्या समाधान गर्ने क्षमता तथा प्राविधिक दक्षता परीक्षण गरिने प्रतियोगिताको पहिलो चरणको छनोट असोज १७ गते अनलाइन माध्यमबाट हुने कार्यक्रम संयोजक सन्देश आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा एक्लै वा चार जनासम्मको टोली बनाएर सहभागी हुन सकिने उनले बताए । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्ने १० टोली बीच आगामी कार्तिकमा फाइनल प्रतिस्पर्धा हुने आचार्यले बताए । प्रतियोगिताको विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र स्पेसल क्याटोगरी अवार्ड विजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । अन्तिम चरणमा सहभागी टोलीले आफ्नो प्रणाली सुरक्षित राख्दै प्रतिस्पर्धी टोलीका प्रणालीमा रहेका कमजोरी पहिचान तथा चुनौती समाधान गर्दा प्राप्त अंकका आधारमा विजेता घोषणा गरिने प्रतियोगिताको नियम छ ।

डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा साइबर सुरक्षाको चुनौति र महत्व पनि बढेकाले युवालाई यस क्षेत्रतर्फ आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष अधिश ढकालले बताए । प्रतियोगितामार्फत साइबर सुरक्षाको क्षेत्रमा रुचि राख्ने युवाले आफ्नो ज्ञान र सीप व्यावहारिक रूपमा प्रस्तुत गर्ने अवसर पाउने र वास्तविक साइबर सुरक्षा चुनौती समाधान गर्ने अनुभव प्राप्त गर्ने अध्यक्ष ढकालले बताए ।

युवामा रहेको प्राविधिक क्षमता र सिर्जनशीलतालाई उचित मञ्च उपलब्ध गराई सुरक्षित डिजिटल समाज निर्माणमा युवाको सहभागिता बढाउन यस्ता कार्यक्रमले सरकारलाई समेत टेवा पुग्ने क्लबका सचिव समीर पाण्डेले बताए । प्रतियोगितामा सातै प्रदेशबाट गरी ३० बढी टिम सहभागी हुने अनुमान रहेको र मंगलबारसम्म २४ टोली दर्ता भइसकेका आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...