
रौतहट । टिकटकमार्फत फर्निचर बिक्री गर्ने बहानामा अनलाइन ठगी गरेको आरोपमा रौतहट प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । थप दुई जना पक्राउ परेसँगै घटनामा पक्राउ पर्नेको संख्या चार पुगेको छ । पक्राउ पर्नेमा कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोकाका रामप्रवेश साह बनिया र सुबोध माली भगत रहेका छन् । यसअघि सोही ठाउँका २० वर्षीय सुरजप्रसाद यादव र २२ वर्षीय भोलिन्द्रकुमार यादव पक्राउ परेका थिए ।
उनीहरूलाई गत भदौ १६ गते कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोकाबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको थियो । उनीहरूविरुद्ध भदौ १७ गते अनलाइन ठगीसम्बन्धी मुद्दा दायर गरिएको थियो । पक्राउ परेकाहरूको बयान तथा अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा थप दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले अनलाइनमार्फत विभिन्न किसिमका ठगी गर्नुका साथै नक्कली नागरिकता र राहदानी बनाएर त्यसैका आधारमा बैंक खाता खोल्ने र ठगीमा प्रयोग गर्ने गरेको खुलेको छ । डीएसपी आचार्यका अनुसार उनीहरूविरुद्ध संगठित अपराधसम्बन्धी कसुरमा समेत थप अनुसन्धान भइरहेको छ । घटनामा संलग्न समूहमा थप व्यक्तिको समेत संलग्नता हुनसक्ने भएकाले अनुसन्धानलाई फराकिलो बनाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत भदौको दोस्रो साता सिरहाको नवराजपुर गाउँपालिका–३ का ४५ वर्षीय वैद्यनाथकुमार यादवलाई टिकटकमार्फत अनलाइनमा फर्निचर बिक्री गर्ने भन्दै सम्पर्क गरिएको थियो । फर्निचर खरिदका लागि कुराकानी गर्ने क्रममा पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाएर मोबाइल बैंकिङको पासवर्ड प्राप्त गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यसपछि पीडितको बैंक खाताबाट ४७ हजार १९८ रुपैयाँ निकालिएको आरोप छ ।
खाताबाट रकम निकालिएपछि पीडितले बैंक खातासम्बन्धी विवरणका आधारमा आरोपीको पहिचान गरी गत भदौ १६ गते इलाका प्रहरी कार्यालय कटहरियामा उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै सुरजप्रसाद यादव र भोलिन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो । उनीहरूको बयान तथा अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा रामप्रवेश साह बनिया र सुबोध माली भगतसमेत पक्राउ परेका हुन् ।
हाल पक्राउ परेका चारै जना इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका छन् । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा डिजिटल कारोबारसँग सम्बन्धित थप विवरणमाथि समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

