
काठमाण्डौ । दुई–दुई कार्यकाल राष्ट्रपतिको सर्वोच्च कुर्सीमा बस्दा पनि ‘देश बनाउन नसकेको’ निष्कर्ष सहित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएकी छन् । नेकपा (एमाले) को वरिष्ठ नेताको हैसियतमा औपचारिक ‘इन्ट्री’ मार्दै उनले शीतलनिवासको बसाइँमा गुमाएका ‘मलामी’ (समर्थकरसद्भाव) फर्काउने र अबचाहिँ देश बनाएरै छाड्ने महत्त्वाकांक्षा सुनाएकी छन् ।
सार्वजनिक कार्यक्रममै उनले आफूलाई अब कुनै पदको लोभ वा व्यक्तिगत स्वार्थ नरहेको दाबी गर्दै नेपाली नेताहरूको चिरपरिचित थेगो दोहोर्याइन्– ‘मलाई त आउनै मन थिएन, कार्यकर्ताले कर गरेर मात्रै आएकी हुँ ।’ उनको सबैभन्दा रोचक आत्मस्वीकृति भने ‘मलामी’ सँग जोडिएको थियो । राष्ट्रपति बन्दा आफ्ना ‘मलामी घटेको’ महसुस गरेकी उनले अब भने मलामी नघटुन् भन्ने एक मात्र ध्येयका साथ पार्टीमा काम गर्ने प्रस्ट्याइन् ।
सर्वोच्च पदको बिदाइसँगै फेरि पार्टी सुदृढीकरण र वामपन्थी एकताको वकालत गर्न थालेकी उनले कम्युनिस्ट आन्दोलनको ‘निर्मम समीक्षा’ हुनुपर्ने बताइन् । अरूलाई मात्र दोष दिएर उम्कन नपाइने र आफ्नै गल्ती सच्याउनुपर्ने भन्दै उनले नेतृत्वको कार्यशैलीमाथि पनि घुमाउरो प्रहार गरिन् । छैटौं महाधिवेशनमा केन्द्रीय सदस्य र आठौंमा उपाध्यक्ष बनेको स्मरण गर्दै उनले लुम्बिनीबाटै आफ्नो यो नयाँ ‘इनिङ्स’ को उद्घोष गरेकी हुन् ।
विगतमा शक्तिशाली नेकपा छिन्नभिन्न हुँदा शीतलनिवासबाटै साक्षी बसेकी भण्डारीले अहिले फेरि वाम एकताको राग अलापेकी छन् । तर, देशको सर्वोच्च पदमा रहँदा हुन नसकेको ‘देश बनाउने’ काम एमालेको वरिष्ठ नेताको कुर्सीबाट कसरी पार लाग्छ र यसले उनलाई कति ‘मलामी’ फर्काउँछ, त्यो भने हेर्न रोचक हुनेछ ।

