
सुनकोशी गाउँपालिका–३, गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा आठ जना घाइते भएका छन् ।
आज बिहान ८:३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ आउँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धार कार्यमा खटिएको थियो ।
प्रहरी टोलीले दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरी उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटा पठाएकोमा सामान्य उपचारपश्चात थप उपचारका लागि ९:०० बजे धुलिखेल अस्पताल पठाइएको छ ।
बेथानचोक–१ बस्ने वर्ष २८ वर्षीय रोम बहादुर योञ्जन, २१ वर्षीय मिना माया तामाङ, ५६ वर्षीय दुर्गा बहादुर योञ्जन, ४३ वर्षीय धन बहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेक बहादुर थिङ घाइते भएका छन् ।
उक्त जिप चालक जिल्ला काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ बस्ने अन्दाजी २६ वर्षीय नारायण बस्नेत सकुशल रहेकोले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

