


कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको एक स्पान र बीचको टावर खसेपछि आवागमन पूर्णरूपमा बन्द भएको छ।
बुधबार बिहान करिब ८ बजे पुलको एक भाग नदीमा खसेको हो। पुल ‘डिसब्यालेन्स’ भएको सूचना पाएलगत्तै सुरक्षाकर्मी परिचालन गरी आवागमन रोकिएको प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताएका छन्।
पुल कसरी क्षतिग्रस्त भयो भन्नेबारे प्राविधिक अध्ययन सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेशको यातायात मन्त्रालयअन्तर्गत पूर्वाधार निर्देशनालयको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी क्षतिको कारण पहिचान गर्नेछ।
प्राविधिक टोलीको प्रतिवेदनपछि प्रदेश सरकारको क्षेत्राधिकारभित्रबाट मर्मत सम्भव भए सोहीअनुसार काम अघि बढाइने र आवश्यक परे संघीय सरकारसँग समन्वय गरिने प्रजिअ कोइरालाले बताएका छन्।
पुलको अवस्था जोखिमपूर्ण रहेकाले सर्वसाधारणलाई घटनास्थलमा नजान प्रशासनले आग्रह गरेको छ।
