
काठमाडौंं । नेकपाले प्रधानमन्त्री बालेन शाहले संसद्को अपमान गरेको भन्दै खेद प्रकट गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक युवराज दुलालले अमेरिका भ्रमणबारे सदनलाई जानकारी नगरेको भन्दै खेद प्रकट गरे।
‘राष्ट्रसंघको ८१ औँ महासभामा देशको प्रतिनिधित्व गर्दै हाम्रा साझा राष्ट्रिय एजेन्डाहरूस हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय, भोटेकोशी, त्रिशुलीमा आएको हिमालयन सुनामी र अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग जस्ता साझा राष्ट्रिय एजेन्डाहरू प्रस्तावित गर्नुभएकोमा प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गर्दछु’ उनले भने, ‘तर महासभामा जानुअघि र आएपछि संसद्लाई जानकारी नगराएर प्रधानमन्त्रीले व्यवस्थापिकालाई गर्नुभएको अपमानप्रति खेद प्रकट गर्दछु।’
उनले प्रधानमन्त्रीले सांसदहरूको स्तर निर्धारण गरेको भन्दै कटाक्ष गरे। उनले भने, ‘प्रधानमन्त्रीले पहिला तीन मन्त्रीको देश बनाउने टिम सार्वजनिक गर्नुभएको थियो। हामीले पछि बुझ्यौँ त्यो उहाँ ठट्टा र मजाक रहेछ। राणा शासकहरूले आफूलाई ए, बी र सी क्लासमा विभाजन गरेका थिए रे, हिजो प्रधानमन्त्रीले सांसदहरूको स्तर निर्धारण गर्नुभएछ, एक्स्ट्रा अर्डिनरी, एभरेज र बिलो एभरेज। रास्वपामा रहेका इन्जिनियर सांसदहरू ए अर्थात् एक्स्ट्रा अर्डिनरीमा पर्नुभएछ, उहाँहरूलाई बधाई छ।’
उनले प्रधानमन्त्री स्वयम्लाई निर्देशन दिने पार्टी सभापति रवि लामिछाने एभरेजमा पर्नुभयो कि बिलोमा ? भन्दै प्रश्न गरे।
उनले थपे, ‘महान् दार्शनिक अरस्तुको असल शासकका गुणहरू प्रतिस्थापन भएकै बाँकी नै छन्र प्रधानमन्त्री स्वयम्लाई निर्देशन दिने पार्टी सभापति एभरेजमा पर्नुभयो कि बिलो एभरेजमा ? किनभने उहाँ इन्जिनियर होइन। अरू सांसदहरू केमा पर्नुभयो ? या यो पनि अर्को ठट्टा हो ? जसले हाम्रो प्रधानमन्त्री ठीकठाक हुनुहुन्छ भनेर हामीले बुझौँ।’

