शंकास्पद भन्दै कोठाभित्र मृत भेटिएकी संगीताको परिवारले बुझेन शव

cp new add
Nisharg hospital

काठमाडौं । कपनमा डेरा गरी बस्ने जाजरकोटकी संगीता शाह ११ असोजमा कोठाभित्र मृत फेला परिन् । केही समय अघिदेखि कपनमा डेरा लिएर बस्न थालेकी संगीताको कोठाभित्रै शंकास्पद मृत्यु भएको थियो । उनका श्रीमान् चार वर्षदेखि वैदेशिक रोजारीमा पोर्चुगलमा छन् । उनका एक छोरा छन् ।

प्रहरीले यो घटनामा आत्महत्या दुरुत्साहनको आरोपमा जाजरकोटको भेरी नगरपालिका-४, रानीगाउँका साजन विकलाई पक्राउ गरेको छ । उनी चार दिनदेखि प्रहरी थुनामा छन् । विकमाथि प्रहरी वृत्त महाराजगञ्जको टोलीले थप अनुसन्धान जारी राखेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘हामीले एकजना युवालाई पक्राउ गरेका छौँ । अहिले आत्महत्या दुरुत्साहन मुद्दा चलाएका छौँ,’ उनले भने, ‘थप पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे स्पष्ट हुन्छ ।’

मृतक संगीताका ससुरा शेरबहादुर राउत भने घटना शंकास्पद देखिएको र पोष्टमार्टम रिपोर्ट नआउँदासम्म शव नबुझ्ने बताउँछन् । ‘कोठाभित्र शव शंकास्पद रूपमा फेला परेको भनिएको छ,’ उनले भने, ‘कोठाको झ्यालमा डोरी लगाएर आत्महत्या गर्न सम्भव हामीले मानेका छैनौँ ।’ प्रहरीको अनुसन्धानबाट साजन र संगिताको पुरानो चिनजान रहेको खुलेको छ ।

संगीताका छोरालाई होस्टलमा राखेर पढाउँदै गरेको ससुरा शेरबहादुरले बताए । ‘मेरो १५ वर्षको नातिसमेत छ । नाति चाहिँ होस्टलमा बस्थ्यो । बुहारीको मृत्युको घटनाले हामी स्तब्ध छौँ । सत्यतथ्य त अनुसन्धानले देखाउँला,’ उनले भने । प्रहरीको अनुसन्धनमा संगीताको मृत्यु भएको दिन साजन उनको कोठामा पुगेको खुलेको छ । तर, उनी कोठाबाट निस्केपछि संगीताले आत्महत्या गरिन् वा उनको हत्या भयो भन्ने विषयमा भने प्रहरी अनुसन्धानकै चरणमा छ ।

प्रहरीको अनुसन्धानका क्रममा संगीता र साजनबीच यसअघि पनि पटक–पटक विवाद हुने गरेको खुलेको छ । उनीहरूबीच विवाहेत्तर सम्बन्ध रहेको आशंका प्रहरीको छ । प्रहरीले थप अनुसन्धानका लागि पोष्टमार्टम रिपोर्ट कुरेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...