
काठमाण्डौ । गायिका एलिना चौहानले आफ्नो निजी जीवन र विगतका सम्बन्धलाई लिएर समाचार तथा सामाजिक सञ्जालमा भइरहेका चर्चाप्रति आपत्ति जनाएकी छन्।
विशेषगरी विष्णु सापकोटासँगको विवाह र त्यसपछि भएको सम्बन्धविच्छेदलाई लिएर पटकपटक समाचार तथा सामग्री प्रकाशित भइरहेको भन्दै उनले सञ्चारकर्मी तथा मिडियाकर्मीलाई आफ्नो वर्तमान जीवनमा बाँच्न दिन आग्रह गरेकी छन्। चौहानले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विगतलाई बारम्बार कोट्याउँदा आफूले भोगेका पुराना पीडा पुनः बल्झिने बताएकी छन्।
उनले लेखेकी छन्, ‘सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीलाई मेरो एउटा आग्रह छ, मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्।’ आफूले कल्पनासम्म नगरेका विषयसमेत समाचारमा देख्ने गरेको उल्लेख गर्दै उनले आफ्नो विगत बिर्सेर धेरै अगाडि बढिसकेको बताएकी छन्। ‘मैले मेरा पुराना घाउहरूलाई नराम्रो सपना सम्झेर छोडिसकेकी छु। तर हरेक कुरामा त्यही विगत निकालेर, पुराना फोटो टाँसेर समाचार बनाउँदा फेरि त्यही घाउ कोट्याइन्छ,’ उनले भनेकी छन्।
उनले आफ्नो विगतलाई वर्तमानको परिचय नबनाइदिन आग्रह गर्दै त्यो आफ्नो जीवनको एउटा अध्याय मात्रै भएको बताएकी छन्। ‘विगत मेरो जीवनको एउटा अध्याय हो, मेरो सम्पूर्ण जीवन होइन। कृपया त्यो अध्याय बन्द गरिदिनुस्,’ उनले लेखेकी छन्। आफ्नो पहिचान बनाउन कसैको नाम वा सम्बन्धको सहारा आवश्यक नरहेको पनि चौहानले स्पष्ट पारेकी छन्।
‘यो कुरा म कुनै घमण्डले होइन, आत्मविश्वासका साथ भन्छु। मलाई आफ्नो पहिचान बनाउन कसैको नामको सहारा चाहिँदैन,’ उनले लेखेकी छन्। उनले विगतसँग जोडिएका नाम वा सम्बन्धलाई बारम्बार निकालेर आफ्नो आजको परिचय बनाइदिन आवश्यक नरहेको बताएकी छन्। चौहानले आफूविरुद्ध भ्रामक तथा आत्मसम्मानमा आँच पुर्याउने समाचारहरू प्रकाशित भइरहे कानुनी उपचारमा जाने चेतावनीसमेत दिएकी छन्।
उनले नोटमार्फत लेखेकी छन्, ‘यस्ता भ्रामक तथा मेरो आत्मसम्मानमा आँच पुर्याउने समाचारहरू फैलाइरहने मिडिया तथा सम्बन्धित व्यक्तिहरूविरुद्ध अब प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जानेछु।’

