
वीरगन्जसँग जोडिएको भारतीय बजार रक्सौलको हरैया थाना क्षेत्रअन्तर्गत नेपाली स्टेशनमा अरिङ्गालको झुन्डले टोकेर दुई बालकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
गत अक्टोबर २ बिहान पुरानो फुसको घरमा खेलिरहेका बालबालिकामाथि अचानक अरिङ्गालले आक्रमण गरेको थियो। गम्भीर घाइते चारै जनालाई रक्सौलस्थित डंकन अस्पताल लगिएकोमा उपचारका क्रममा ७ वर्षीय लखन कुमार मल्लिकको आइतबार साँझ मृत्यु भयो।
यसअघि विजय मल्लिकका २ वर्ष ६ महिनाका छोरा करण कुमार मल्लिकको गत शुक्रबार उपचारकै क्रममा मृत्यु भएको थियो। घाइते ४ वर्षीय अरुण कुमार मल्लिक र ३ वर्ष ६ महिनाका रक्की कुमार मल्लिकको डंकन अस्पतालमै उपचार भइरहेको छ।
अति विपन्न तथा महादलित डुम समुदायका बालबालिका घटनाको शिकार बनेपछि बस्ती शोकमा डुबेको छ। नगरपालिकाले मृतक बालकको अन्त्येष्टिका लागि ५ हजार रुपैयाँ सहयोग गरेको छ भने स्थानीयले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा थप सहयोग गर्न प्रशासनसँग माग गरेका छन्।

