
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तोसिमा कार्कीले नेपाली कांग्रेसलाई व्यवहारमै सुधारिएको र बलियो लोकतान्त्रिक दलका रूपमा देख्न चाहेको बताएकी छन्।
कांग्रेसको जारी १५औँ महाधिवेशनप्रति धारणा सार्वजनिक गर्दै कार्कीले संघीय संसद्मा संख्या कम भए पनि नेपालको लोकतान्त्रिक इतिहासमा कांग्रेसको योगदान महत्वपूर्ण रहेको बताइन्। कांग्रेस केवल राजनीतिक दल नभई नेपालको लोकतान्त्रिक इतिहासको महत्वपूर्ण हिस्सा भएको उनको भनाइ छ।
उनले विगतका गल्ती सच्याउँदै कांग्रेसले राजनीतिक व्यवहारमा सुधार गरी पारदर्शी, जवाफदेही, जनमुखी, सुसंस्कृत र लोकतान्त्रिक दलका रूपमा आफूलाई पुनर्निर्माण गर्नुपर्ने बताइन्। ‘हामी सुधारिएको कांग्रेस हेर्न चाहन्छौँ। शब्द र दस्तावेजमा मात्र होइन, व्यवहारमै,’ कार्कीले सामाजिक सञ्जालमार्फत भनेकी छन्।
रास्वपाले कांग्रेसलाई कमजोर नभई सक्षम, इमानदार, नैतिक र बलियो प्रतिस्पर्धीका रूपमा देख्न चाहेको पनि उनले बताएकी छन्। बलियो प्रतिस्पर्धी हुनु रास्वपाका लागि डरको विषय नभई लोकतन्त्रलाई थप बलियो बनाउने आधार भएको उनको भनाइ छ।
‘हामी नेपाली कांग्रेसलाई कमजोर प्रतिस्पर्धीका रूपमा होइन, सक्षम, इमानदार र विचारमा मात्र नभई व्यवहारमै नैतिकवान् र बलियो प्रतिस्पर्धीका रूपमा देख्न चाहन्छौँ,’ उनले भनेकी छन्।
कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतको योगदानलाई चुनावी परिणाम वा सत्तामा बिताएको समयका आधारमा मात्र मूल्यांकन गर्नु उनीहरूको योगदानको अवमूल्यन हुने कार्कीले बताइन्।
उनले १४औँ महाधिवेशनपछि जेनजी पुस्ताको आन्दोलनबाट बदलिएको परिस्थितिमा गगनकुमार थापाको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनले पार्टीभित्र विधि र विधानको सर्वोच्चताको महत्वपूर्ण नजिर स्थापित गरेको दाबीसमेत गरिन्।
कार्कीले कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नभई समयसापेक्ष विचार, संगठन र राजनीतिक संस्कारलाई पुनःसुदृढ गर्ने अवसर बन्नुपर्ने बताएकी छन्।

