
काठमाडौं । नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ ।
महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै सिलिन्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताएका छन् ।
यो सत्यलाई बेवास्ता गर्दै विभिन्न ग्यास उद्योगहरूले धमाधम २५ सय देखि २७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले कडा आपत्ति जनाएको छ । यसरी उद्योगले नयाँ सिलिन्डर बेच्दा पनि नेपाल आयल निगम र सरकार मूकदर्शक बनेको भन्दै महासंघले उद्योगी, निगम र सरकारको कार्यशैलीप्रति संशय व्यक्त गरेको छ।
बजारमा रहेका अनावश्यक सिलिण्डरको धरौटी रकम फिर्ता गर्नुको सट्टा आगामी वर्षहरूमा आम उपभोक्तालाई लुट्ने उद्देश्यले ५ किलो, १९ किलो, ५० किलो र ४५० किलोका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइएको भन्दै त्यस्तो योजना सभ्य समाजलाई स्वीकार्य नहुने महासंघको चेतावनी छ । ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन महासंघले मुख्यतया उद्योगबाट निरन्तर भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र ग्यास बिक्री गर्ने व्यवस्था मिलाउन निगमको ध्यानाकर्षण गराएको छ ।
यसका साथै, ग्यास अभाव समस्याको सही पहिचान गरी सरोकारवालाहरूसँगको परामर्शमा सहज आपूर्ति मिलाउन र हाल सर्वसाधारणले प्रयोग गरिरहेको १४।२ किलो ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्न पनि निगमसमक्ष माग गरिएको छ ।

