


धनगढी । कैलालीमा भन्सार छली गरी भारतबाट ल्याइएका करिब २ लाख ४७ हजार रुपैयाँ बराबरका सामानसहित तीन जना पक्राउ परेका छन्।


बर्दगोरिया गाउँपालिका–१ बौनियाँ चोकस्थित भजनी जाने सडकखण्डमा बिहीबार दिउँसो शंकास्पद अवस्थामा रहेको अटोलाई प्रहरीले जाँच गर्ने क्रममा भन्सार छलीका सामान फेला पारेको हो।






प्रहरीका अनुसार जानकी गाउँपालिका–५ निवासी ३५ वर्षीय विपत राम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ००१ ह ४२५३ नम्बरको अटोमा भारतबाट भन्सार छली गरी ल्याइएका साना तथा ठूला सर्ट फेला परेका थिए।

उक्त सामानको अनुमानित मूल्य २ लाख ४७ हजार १७५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। अटोमा सवार टीकापुर नगरपालिका–१ निवासी ३८ वर्षीय रामबहादुर टमाटा र ४९ वर्षीय प्रकाश कुँवरसहित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट खटिएको प्रहरी टोलीले आवश्यक प्रक्रिया पूरा गरी बरामद सामानसहित तीनै जनालाई थप कारबाहीका लागि सत्ती भन्सार कार्यालय, कैलालीमा पठाएको जनाएको छ।






