


काठमाडौं । अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा झरी पर्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।


उनका अनुसार बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको प्रभावले मंगलबारदेखि एक साताभन्दा बढी समय वर्षा हुन सक्ने पूर्वानुमान मोडेलहरूले देखाएका छन्।






केही स्थानमा भारी वर्षा र असिनासहित पानी पर्ने सम्भावना रहे पनि वर्षाको स्थान र मात्रा अझै निश्चित नभएको उनले बताएका छन्। पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले नियमित मौसम अपडेट हेर्न उनले आग्रह गरेका छन्।

धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको अवस्था हेरेर योजना बनाउन सुझाव दिँदै उनले सम्भव भए वर्षा सुरु हुनुअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा रोकिएपछि काट्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
हिमाली क्षेत्रमा जोखिम बढी हुन सक्ने भएकाले यात्रा तथा ट्रेकिङमा रहेका र जाने तयारीमा रहेकाहरूलाई समेत आधिकारिक मौसम सूचना हेरेर सावधानी अपनाउन उनले सुझाव दिएका छन्।






