


धनगढी । भारतबाट आउने स्याउको आपूर्ति रोकिएपछि जुम्लाको स्याउले नेपाली बजारमा राम्रो अवसर पाएको छ । यस वर्ष जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ बाहिरी जिल्लामा बिक्रीका लागि पठाइएको छ । यसबाट करिब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको कृषि विकास कार्यालयको प्रारम्भिक तथ्याङ्क छ ।


कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार किसानले बगैँचाबाट प्रतिकिलो न्यूनतम ७५ रुपैयाँका दरले स्याउ बिक्री गरेका छन् । यस वर्ष जिल्लामा करिब १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ । गत वर्षको तुलनामा उत्पादन केही घट्ने अनुमान गरिएको छ ।





व्यापारीले केही स्याउ शीतभण्डार र घरमै भण्डारण गरेकाले थप स्याउ बजारमा पुग्दा कारोबार बढ्न सक्ने कार्यालयले जनाएको छ ।जुम्लाको तातोपानी गाउँपालिका–६ बजारावलामा ७ हजार १४० रोपनी क्षेत्रफलमा गरिएको सामूहिक स्याउ खेतीबाट यस वर्ष ३४ मेट्रिक टन उत्पादन भएको छ । त्यसबाट करिब ३० लाख रुपैयाँको स्याउ बिक्री भएको छ ।


जिल्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरपरिवार स्याउ खेतीमा निर्भर छन् । यहाँ झन्डै ४ हजार ६०५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ । चालु आर्थिक वर्षमा थप १०८ हेक्टरमा खेती विस्तार गर्ने लक्ष्य छ ।
जुम्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन, रिचा रेड, जनाथन र स्परलगायत जातका स्याउ उत्पादन हुन्छन् । पछिल्लो समय गाला र फुजीजस्ता उच्च घनत्वका जातको खेतीसमेत विस्तार भइरहेको छ । हाल ५२ हेक्टरमा उच्च घनत्वको फुजी स्याउ खेती हुँदै आएको छ ।
स्थानीय व्यापारी माया रोकायाले जुम्लाबाट १ हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेको बताइन् । भारतबाट आउने स्याउको आपूर्ति बन्द भएपछि जुम्लाको स्याउको माग बढेको उनको भनाइ छ ।
जिल्लामा स्याउको कुल उत्पादन, बिक्री र निर्यातको अन्तिम विवरण संकलन हुन बाँकी रहेकाले कारोबार रकम थप बढ्न सक्ने कृषि विकास कार्यालयले जनाएको छ ।






